April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

म्याद थपका लागि दुर्गा प्रसाईँलाई आज अदालत लगिँदै

570

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि थप अनुसन्धान गर्न आज अदालत पेस गरिने भएको छ ।

 प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत ‘विवादास्पद अभिव्यक्ति’ दिएको आरोपमा मंगलबार पक्राउ परेका प्रसाईं विरुद्ध जिल्ला अदालतबाट साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको थियो । उनीविरुद्ध साइबर अपराधसँगै अन्य अभियोग पनि लगाउने तयारी रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । 

प्रधानमन्त्री ओलीले कम्बोडियामा २० करोड डलर लगानी गरेको प्रसाईंले भिडियोमार्फत आरोप लगाएका थिए । सो भिडियोमा उनले कागजात पनि देखाएका छन् । फर्जी कागजात बनाएको कसुरमा प्रहरीले उनीविरुद्ध ‘किर्ते गर्न नहुने’ अभियोग लगाउने तयारी गरेको छ । 

Advertisement

मुलुकी फौजदारी संहिता–२०७४ को दफा ८९ मा झुटा प्रमाण बनाउन नहुने कानुनी व्यवस्था छ । प्रहरीले उनीविरुद्ध झुटा प्रमाण बनाएको कसुरमा पनि अनुसन्धान गर्ने तयारी गरेको छ । झुटा प्रमाण बनाएको पुष्टि भएमा ५ वर्षसम्म कैद हुन्छ ।

मुलुकी फौजदारी संहिता–२०७४ को दफा ५८ अनुसार राष्ट्रपति वा संसद्लाई धम्की दिन पाइँदैन । त्यसरी धम्क्याएको पुष्टि भएमा ७ वर्षसम्म कैद हुने व्यवस्था छ ।