नडाहा/प्रकाश दिप्साली राई
“सपनामा
झण्डै दुईसय तीस वर्षागाडीको
एक अशुभ साँझ
धुवाँ उड्दै गरेको
एक खण्डहर
अर्थात् रगताम्य हतुवागढी
जहाँ त्यो आफै पनि
आफ्नो गिँडसङ्गै ढलिरहेको थियो
आफ्नो गढीसङ्गै ढलिरहेको थियो ।”
(दुई सय तीस वर्ष पछि– एक जवाफ)
आर्थिक वर्षको अन्त्यसँगै बल्ल साहित्यका लागि छुट्टाइएको बजेट सदुपयोग गर्नुछ, अर्कोतिर असारे झरीले आवतजावतलाई कठिन बनाइरहेको यो प्रतिकुल परिस्थिती छ । यसका बाबजुत गत शनिवार बिराटनगरको आरोहण गुरुकुलमा झण्डै ७० को हाराहारीमा कवि लेखकहरु जम्मा भए र घण्टी बजेसँगै चकमन्न हलभित्र पसे । पाश्र्वमा गुञ्जिरहेको थियो “पुर्वै जाने रेल, हासेर बोलीदेउ कान्छी दुईदिन बाँचुन्जेल….. ।” त्यसको केही मिनेटमै हसिलो मुद्रामा पर्दापण भए नेपाली कविता र गीतका अग्लो धरोहर भुपाल राई । र, सुनाए माथि उल्लेखित आफ्ना पुर्खाहरुले एकीकरणको नाममा भोग्नुपरेको दर्द र पीडाहरुको कविता । र, थपे अरु यस्तै वजनदार कविताहरु । पहिचान र अस्तित्वलाई मूल मुद्दा बनाएर कलम चलाइरहेका कवि राईले अर्को प्रभावशाली कविता सुनाए ।
“आश्चर्य !
पत्ता लागेको भ्रमको कथित दिनदेखि
तिमी हरायौ आफ्नो पत्ताबाटै
कहिल्यै नहराएको तिमी
हराउनकै लागि सायद पत्ता लाग्यौ आओल
त्यही दिनदेखि
तिमी तिम्रो भूगोलको नक्सा च्यातियौ
तिमी तिम्रो इतिहासको जरा काटियौ
तिमी तिम्रो समाजशास्त्र भत्कियौ ।”
(रातो नश्ल)
‘काव्यारोहण आरोहण काव्य यात्रा’ले आयोजना गरेको १२औं शृङ्खलाको मन्चमा उक्लिएका राईले दर्जन बढी कविताहरु सुनाए । कुनै पनि कवि सबैको प्रिय हुन सकिन्छ भन्ने धारणा गलत रहेको भन्दै कविताका आ–आफ्नै पाठकहरु हुने बताए ।
उपस्थित दर्शक दिर्घाले कुनै पनि कविले मन्च चकमन्न पार्यो भने पहिलोपल्ट भुपाल राईले बनाएको प्रतिक्रिया दिँदै थिए । कवि भुपाल राईलाई सुन्न धरान, पाँचथर, झापा, इलाम र छिमेकी जिल्लाहरुबाट समेत कवि सर्जकहरुले उपस्थिति जनाएका थिए । शान्त चकमन्न हलमा कविता सुनाउन प्रफुल्लित बनेका राईले इच्छा पत्र, मन्दिर, चितवनको काठमाडौ , ओसियन पार्कको डल्फिन , नो वान किल निर्मला, भाषा, यारी, अन्तिम इच्छा पत्र, घाटे, प्रदर्शनीमा श्रीपेच लगायतका कविताहरु सुनाए । उनलाई काव्यारोहणको तर्फबाट प्राज्ञ विवश पोख्रेल लगायतले सम्मान पत्र र दोसल्ला ओढाएर शिर उभ्याएका थिए । दुई सय तीस वर्ष पछि – एक जवाफबाट सुरु गरेका राईले कविता वाचनको बिट भने “अन्तिम हिसाबकिताब” कवितामार्फत गरेका थिए ।
“मात्र तिम्रो लागि खिपेको ओँठको ढाई अक्षर
ओठमै बाँध्नेछु
उड्न लागेको सासको एक संवाद
सास्मओ थुन्नेछु
र मेरो अन्तिम प्रस्थानसँगै
लगेर आफ्नो चिहानमा
त्यसलाई आफैसँग सेलाउनेछु ।
बल्ल
थाहा पाउनेछौ
घाटा कसलाई पर्नेछ ।”
(अन्तिम हिसाबकिताब )