भनिन्छ यो सृष्टि र समाज कुनै समय महिलाप्रधान थियो । समयसँगै समाजको संरचना पुरुषप्रधान हुँदै गयो । परिस्थितिजन्य अवस्थाले या पुरुष अहमताले महिलाहरूलाई पछि पार्दै लग्यो । प्रकारान्तरले शताब्दियौंदेखि महिलाहरू हरक्षेत्रमा पछि परे । विज्ञान र आधुनिक समयका विविध अवधारणाको विकाससँगै महिलाहरूको अवस्था विश्वजगतमा सुधारोन्मुख त छ तथापि आज पनि समग्र अवस्थालाई हेर्दा महिला विभेद उस्तै छ । स्थान र देश विशेषमा, धार्मिक सोचहरूमा, सभ्यता र शिक्षाको विकास अनुसार विभेद फरक फरक अवस्थामा छ । जस्तै अमेरिकामा लैंगिक समानता र महिला शसक्तिकरणको स्तर राम्रो मानिन्छ । तर त्यो देशमा समेत आजसम्म महिला राष्ट्रपति चयन भएको छैन । त्यहाँ पनि नारीवादी लेखकहरू छन् । भारत प्रजातांत्रिक देश भैकन पनि त्यहाँ नारी भेदभावजन्य अन्धविश्वास, दाइजो प्रथा र महिला हिंसाको उदाहरण प्रसस्तै छन् । त्यसै गरेर केहि विकसित भनिएका मुश्लिम देशहरूमा महिलाहरू घरभित्र मात्र हैन घुम्टोभित्र बाँच्दछन् । नेपालको राजनीतिमा, समाज र परिवारमा महिलाको स्थान आज पनि कमजोर छ । जहाँ आज पनि आमाको अस्तित्व स्वीकार गरिदैन । समानुपातिकता र समावेशिताजस्ता शब्दावली संविधानमा लेखिएका छन् तथापि नारी हकहित र शसक्तिकरणमा राज्य उदासीन छ । सोचमा पूर्वाग्रह छ । नयाँ नियम र ऐनहरू बन्छन् तर ती महिलामैत्री छैनन् । अझै पनि आमाको नामबाट बच्चाले नागरिकता पाउदैनन् । विभेद र बहिष्करण छ । छाउपडी प्रथा छ । एसिड आक्रमण छ बलत्कार छ कानुन छैन । यसरी हेर्दा हरेक क्षेत्र र ठाउँहरूमा भेदभावको स्तर र प्रकार अनुसार महिलाहरूले अस्तित्वको खोजी गरिरहेका छन् । लैंगिक समानताको वकालत गरिरहेका छन् ।
प्रख्यात अस्वेत अमेरिकी लेखिका माया एंगेलो लेख्छिन् –
“म सुन्दर छैन या
म कुनै फेसन मोडल अनुरूपको हैन
तर म एक महिला हुँ ।
एक असाधारण महिला त्यो म हुँ ।”
यो भनाइमा महिलालाई सौन्दर्यसम्बन्धि वस्तुको रूपमा हैन दार्शनिक आँखाले हेर्न आग्रह गरिएको छ ।
कुरानलाई चुनौति दिँदै चर्चित बंगलादेशी लेखिका तसलीमा नसरीन लेख्छिन् –
“मौनता सधैँ सुन्दर हुदैन कहिलेकाहीँ यो हिंसाको दोश्रो रूप हुन्छ ।”
हङ्कङबाट कवियित्री जुनु राना लेख्छिन् –
“युग बदलिन्छ
सीताहरूको परीक्षा बदलिदैन
आज पनि सीताहरू जिउँदै जल्छन्
टोल–टोलमा जल्छन्
रातको कालो प्रहरमा जल्छन् ।“
(सीताहरू)
कवि जुनू राना पछिल्लो समय एक शसक्त नारी हस्ताक्षर हुन् । कर्मथलो हङकङ भए पनि करिब दशक यता नेपाली साहित्य लेखनमा सकृय रानाका थुप्रै निबन्ध, समसामयिक लेख रचना र फुटकर रूपमा कविताहरू प्रकाशित भएका छन् । उनलाई खासगरि नारीवादी लेखिका भनेर चिनिन्छ । कवि रानाले समाजमा देखिने महिला हिंसा, भेदभाव र बहिष्करणका विरुद्ध तुरुन्तै बोल्ने र लेख्ने गरेको पाइन्छ । यति मात्र हैन जातीय विभेद, अमानवीयता र विसंगत पक्षहरूको फण्डाफोर गर्दै असल समाजको पक्षमा वकालत गर्ने एक सामाजिक अभियन्ता नै हुन् राना । कवि रानाको भरखरै प्रकाशित रातो नदी कविता सङ्ग्रह अहिले चर्चामा छ । यसै कविता सङ्ग्रहबारे केहि निजी बिचारहरू राख्न चाहन्छु ।
“रातो नदी” नाम आफैँमा नारी अस्तित्व बोक्ने बिम्ब हो । सङ्ग्रहभित्र यहि शिर्षकमा दुई थान कविता छन् । सङ्ग्रहको नाम सटिक छ जसअनुसार पुस्तकको आवरण अर्थपूर्ण छ सुन्दर र आकर्षक छ ।
यध्दपि यसभित्र बिबिध बिषय र पृष्ठभूमि बोकेका ६९ वटा कविताहरू छन् तर म यसमा रहेका नारीवादी र नारी अस्तित्ववादी कविताहरूबारे ज्यादा केन्द्रित रहनेछु । यस सङ्ग्रहमा करिब बीस प्रतिशत जस्तो कविता नारीवादी छन् ।
माथि उल्लेखित कविताँश कै प्रसंगमा कुरा गरौं । रामायणकी सीता आज पनि पुज्य छिन् । उनको कतै अपमान भए राष्ट्रिय बहस नै हुन्छ । जसको लागि सारा मानिसहरू जाग्छन् । तर राज्यका सीताहरू किन तिरस्कृत छन् ? विभेद एक सोच र स्वभाव पनि हो । निर्मला पन्तहरू बलत्कारपछि हत्या गरिँदा र मुस्कान खातुनमाथि एसीड प्रहार हुँदा समाजलाई खासै फरक पर्दैन । किनकी यी उदाहरणहरू सामान्यजस्ता बनिसकेका छन् । यहाँ कति सीताहरू प्रहर प्रहरमा बलात्कृत भइरहेका छन् त कति जलिरहेकै छन् ।
“लुटिएर पनि ओठमा हाँसो छर्न बाध्य छन् सीताहरू
मानसिक रूपमा सति जान बाध्य बन्छन् सीताहरू”
नेपाल सतिजस्तो क्रूर प्रथाको इतिहास बोकेको देश हो । कुनै समय यहाँ पतिको मृत्यू हुँदा पत्नीले पतिसँगै जिउदै जल्न पर्थ्यो । आज पनि कुनै न कुनै रूपमा राज्यका सीताहरू जलाइन्छन् । तर पनि उनीहरू हाँसेरै सास्ति सहिरहेका छन् ।
नारी अस्तित्ववादी कविताहरू अन्तरगत रातो नदी–१ र रातो नदी –२ बारे चर्चा गर्नैपर्ने हुन्छ ।
“यो रातो नदी बनेर म बगेकै छु
जहाँ म हुनुको अर्थ अलग छ
जुन नदीले सृष्टिको अस्तित्व बोक्दछ ।”
(रातो नदी १)
रातो नदी अर्थात महिलाहरूमा हुने मासिक रजस्वला । जसले सृष्टिको अस्तित्व बोकेको छ । महिला हुनुको पृथकता बोकेको छ । यो महत्वपूर्ण पक्षलाई जगतमा नजर अन्दाज गरिएको छ । हेयको दृष्टिले हेरिएको छ । उपेक्षा गरिएको छ । यतिसम्म की नेपालमा त यसलाई छाउपडी प्रथा अन्तर्गत राखिएको छ । कविले त्यो रातो नदीलाई उपेक्षा नगर्न चेतावनी दिँदै सारा महिलाहरूलाई यो समयमा बलियो बन्न बल दिएकी छिन् । कवितामा नारीहरूको सम्मानको आग्रह र अस्तित्वको पैरवी गरिएको छ । यी दुबै कविताले समाजमा महिलाहरूको निजत्व र जननीप्रतिको सम्मानको आग्रह गर्दै नारीहरूलाई उर्जा दिने काम गरेको छ ।
“नारीहरू !
छाउपडी गोठहरूमा
एक्लै नछट्पटीनु र पीडादायि मृत्यु नभोग्नु
तिम्रो अधिकार हो ।”
(रातो नदी –२)
पितृसत्तात्मक समाजविरुद्ध कविले यसरी विद्रोह बोलेकी छिन् ‘वंश युद्ध’ कवितामा–
“पुरुष परम्पराले कोरेका
एक एक लक्ष्मणरेखा पार गर्दै
उठाउनु छ आत्मसम्मानको ग्रेटवाल
सृष्टि जोगाउने नारीलाई
कमजोर ठान्ने अहंविरुद्ध
उभिनुछ अटल पहाड ।”
(वंश युद्ध)
यो अर्को नारी अस्तित्ववादी कविता हो । जसबाट विद्यमान समाजलाई चुनौति दिने जमर्को गरिएको छ । जहाँ परम्पराले कोरेका लक्ष्मणरेखा नाध्दै आत्मसम्मानको ग्रेटवाल उठाउने निश्चय गरिएको छ ।
राज्य विभेदकारी छ जसले युगौंदेखि नारीलाई बहिष्कार गर्यो । जस्ले लोग्नेलाई मात्र प्रधानता दियो । नागरिकतामा लोग्ने(पुरुष)को नाम उल्लेखनीय बनायो । राज्यले एउटी नारीलाई फरक अस्तित्व स्विकार्न मानेन ।
“म अपमानित आमा हुँ
जसको देह चल्छ गर्भ चल्छ
तर चल्दैन अस्तित्व ।
चिन्दैन राज्यले मलाई
उसले चिन्छ त केवल मेरो लोग्नेको अस्तित्व ।”
(घोषणा)
कवि लेखकहरू सधैं प्रतिपक्ष हुन् । सचेत नागरिक समाजका सदस्य हुन् र सचेतक हुन् । कवि रानाका कविताहरूले राज्य र समाजलाई घचघच्याएको छ । खÞबरदारी गरेको छ ।
“सक्छौ बेच मेरो अस्तित्व
थोकको भाउमा
अपमानित गर मेरो नाम
नभुल म धर्ती हुँ ।”
(म पृथ्वी)
नारीवाद महिलाहरूको वर्चस्वताको बहस हैन । यो एक समानताको पैरवी हो लैंगिक समानताको मानवीय आग्रह हो । जसरी भारतीय नारीवादी लेखिका र नारी कार्यकर्ता कमला भसिनले भनेकी थिइन्– “पितृ सतात्मकताको विपरितार्थक मातृसत्तात्मकता हैन समानता हो ।”
यो सानो समीक्षा लेखमा सङ्ग्रहभित्र भएका सबै कविताबारे विश्लेषण गर्न सम्भव छैन । तर दुई वटा युद्ध कविता नुन र लाहुरेबारेमा केही लेखिएन भने यो लेख अपूरो हुनेछ ।
“नाइल नदीजस्तै
समय बगिरहेको छ लम्बिएर
नुनका कथाहरू त्यहि नाइल नदीको मुहानसँगै
सुरू भएको हुनुपर्छ ।”
(नुन)
यस सङ्ग्रहका दुई युद्ध कविता ‘लाहुरे’ र ‘नुन’मा प्रयुक्त विम्बहरू ‘नुन’ र ‘छातिहरू’ले पाठकलाई तान्छ ।
गोर्खे लाहुरेहरू मानौं मानिस हैनन । केवल छातीहरू हुन् । कुनै समय उता बेलायती साम्राज्यलाई युद्धमा गोली थाप्ने छातिहरू चाहिन्थ्यो । यता नेपालका सासकहरू छातीहरू बिक्री गर्थ्यो । बिचमा थियो नुन । नुनले लेखेका अनिगिन्ति कारुणिक कथाहरू छन् । र प्रकारान्तरले आज पनि छातीहरू नुनकै खोजीमा बिक्री भैरहेका छन् । नुन जिजीविषा हो जसको खोजीमा हामी नेपालीहरू उसबेलादेखि आज पर्यन्त देशबाहिर बाँचिरहेका छौं । पुर्खाहरू नुन खोज्दै जाँदा लाहुरे बने, बेचिए अनि भाडाका लडाकु बने । तिनैका दरसन्तान हामी प्रकारान्तरले उनै पुर्खाका पदचापमा छौं । आज पनि खासगरी बेलायत र हङकङमा रहेका नेपालीहरू नुन खोज्ने पुर्खाहरूका सन्तान हुन् । यसरी नुन खोज्दै जाँदा देश र राज्य संयन्त्रसँग बिमुख हुन परेको कटु यथार्थलाई यी दुई कविताले बोलेको छ ।
अन्य अस्तित्ववादी कविताहरूमा बेरङ्ग रङ्ग, क्याक्टस र कागजलाई राख्न सकिन्छ । त्यसै गरेर अन्य विषयक कविताहरूको कुरा गर्दा माटो र म, गाउँ, समुद्र पारि र भूस्वर्गहरूले देश प्रेम र नोष्टाल्जिया बोकेका छन् । भेरी साक्षी छ, जातको ब्रम्हाण्ड र मान्छे कविताले मानवतावादको वकालत गर्छन् । मगज सौन्दर्य, अस्तित्व, कर्तव्य, ढुंगा देवता बनेपछि र उर्जा कविताले लेखकीय दृष्टिकोण प्रस्तुत गरेका छन् । बाढी पहिरो र म पृथ्वी कवितामा विद्रोह छ । अलालसा, शीरुझार, धुलो र गुलाब कवितामा दर्शन पाइन्छ । स्वयुद्ध, सपनाका पालुवाहरू, कामना, सारथी, आँखा, जिÞन्दगीको नाममा इत्यादि कविताले नारी भावुकता र जीवनबोध ब्यक्त गर्छन् । त्यो मै त हुँ, म पर्खिरहने मान्छे, चिठी, बिलौना, कोइली र अनुपस्थितिजस्ता थुप्रै प्रेम कविताहरू पढ्दा मज्जा आउँछ ।
कविताहरूमा कतै पनि नारा छैनन् । भोगाइका र दुखाइका कुण्ठा र आइया आत्था अनि उच्छवासहरू छैनन । जसले गर्दा पाठकहरू कतै निरास हुन पर्दैन यो राम्रो पक्ष हो । अनावश्यक शब्द थुपारेर कविताहरूलाई बर्णनात्मक बनाइएको छैन यसले गर्दा पाठकलाई कविता पठनीय लाग्छ । सङ्ग्रहमा नारी सुलभ भावका श्रृंगारीक कविताहरू छन् तर कतै पनि सस्तो यौनिकताका बयान छैनन् । यो सङ्ग्रह पढिसक्दा पाठकलाई उर्जा महसुस हुन्छ । विविध विषयमा ब्यक्त भावहरूले छुन्छ । भाषा र शैली सरल भएकोले गैरसाहित्यिक पाठकको लागि समेत सङ्ग्रह पठनीय छ ।
कविताहरूमा बिम्बको कमी भने देखिएको छ । आगामी कविताहरूमा यसको कमी पूरा होलान । त्यसै गरेर अधिकांश कविताहरू भावानात्मक छन् या रुमानी छन् । थप वैचारिक र प्रयोगात्त्मक कविताहरू आउनु जरुरी छ । त्यसैगरि नयाँ प्रयोग पनि थपियोस र स्वपहिचान र मौलिक संस्कृतिबारे पनि कविताहरू आवोस् । कविको आफ्नै सांस्कृतिक सौन्दर्यहरूमा पनि कलम चलोस् साथै आफू बसेको ठाँउ र जीवनबारे पनि कविता आवोस् । महिला शसक्तिकरण एक सोच पनि हो । नारीभित्र यसको विजारोपण होस् भन्नलाई कवि लेखकहरूले व्यवहारिक दर्शन र विद्रोह पस्कन सकुन् यो सुझाव राख्दै बिट मार्छु ।