काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा दुईवटा गठबन्धन बनेको बताएका छन् । सोमबार धनगढीमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा सम्बोधन गर्दै प्रचण्डले चलखेल गरेर कोशी सरकारमा एमाले सहभागी भएको आरोप लगाएका हुन् ।
कार्यक्रम बोल्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले कोशीमा सत्तारुढ गठबन्धन र एमाले र कांग्रेसको असन्तुष्ट समूहको अर्को गठबन्धन रहेको पनि बताए । उनले भने, ‘कांग्रेस त पार्टी हो कि मञ्च हो कि मोर्चा । कोशीमा दुइटा गठबन्धन बनेका छन्; एउटा हाम्रो गठबन्धन र अर्को एमाले र असन्तुष्ट कांग्रेस समूहको गठबन्धन । एमालेले चलखेल गरेछ र मन्त्री छिराइहालेछ ।’
कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री बनेका केदार कार्कीले सत्ता गठबन्धनले दिँदै आएको दबाबका बीच एमालेसहितको सरकार गठन गरेका छन् । एमालेका उपनेता रामबहादुर मगर र कांग्रेसमा विद्रोह गरेका शम्शेर राईलाई मुख्यमन्त्री कार्कीले विनाविभागीय मन्त्री नियुक्त गरेर शपथ लिएपछि बुधबार विश्वासको मत लिन लागेका छन् ।