July 17, 2025, Thursday
२०८२ श्रावण १
1:37:26 pm

नयाँ दिल्लीबाट १५ तोला सुनका गहना र ८ लाख लुटेर आएका ६ नेपाली पक्राउ

285

काठमाडौं । भारतको नयाँ दिल्लीबाट धनमाल लुटेर फर्किएका ६ नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिकोटको नरहरिनाथ गाउँपालिका ९ की २८ वर्षीया सरिता शाही, रासकोट नगरपालिका १ का ४२ वर्षीय मनबहादुर शाही, सोही ठाउँकै ४२ वर्षीय तेजबहादुर शाही, सान्नी त्रिवेणी गाउँपालिका ८ का १८ वर्षीय पङ्कज केसी, सोही ठाउँका ३८ वर्षीय अनिता खत्री र ४५ वर्षीय प्रेमबहादुर खत्री छन् ।

प्रहरीकाअनुसार पक्राउ परेकाहरूको साथबाट १५ तोला सुनका गरगहना (लालपत्थरसहित) र नगद सात लाख ८७ हजार रुपैयाँ बरामद भएको छ ।

Advertisement

उनीहरूलाई कोहलपुर नगरपालिका ११ स्थित होटल न्यु कालिकोटेबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरू भारतको दिल्लीस्थित एक घरबाट धनमाल लुटेर आई त्यहाँ बसिरहेका थिए।

पक्राउ परेकामध्ये २८ वर्षीया सरिता करिब एक वर्षअघि नयाँ दिल्लीस्थित सो घरमा काम गर्दै आएकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुले अनुसार समूहका सदस्यको योजनाअनुसार नै सरिता परिचालित भएकी थिइन् । उनले घरका काम गर्दै विश्वास आर्जन गरेपछि कालिकोटबाट बाँकी सदस्यलाई बोलाएकी थिइन् । उनीहरूले घरमा कोही नभएको मौका छोपी सुनका गरगहना र नगद चोरी गरेर नेपाल फर्किएको प्रहरीले जनाएको छ ।

होटलमा बसिरहेका बेला उनीहरूलाई प्रहरी निरीक्षक रेशमलाल पौडेलको नेतृत्वमा खटिएको प्रहरीले टोलीले नियन्त्रणमा लिएको हो ।

यसैबीच, पक्राउ परेकाहरूलाई बाँके जिल्ला अदालतले अनुसन्धानका लागि थुनामा राख्न सात दिनको म्याद दिएको छ ।