May 1, 2024, Wednesday
२०८१ बैशाख २०
1:37:26 pm

निर्वाचन आयोगको निर्णयपछि जसपा– उपेन्द्र पक्ष आक्रोश

2K

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) विवादको सन्दर्भमा निर्वाचन आयोगले गरेको निर्णयले समस्या झन् बल्झिने भएको छ। 

जसपाको उपेन्द्र यादव– बाबुराम भट्टराई पक्षले आयोगको निर्णयलाई ‘अनपेक्षित’ भनेको छ। जबकि महन्थ ठाकुर– राजेन्द्र महतो पक्षमा नेताहरु भने आयोगको निर्णयबाट खुसी छन्।

निर्वाचन आयोगले जसपाको उपेन्द्र–बाबुराम र महन्थ–राजेन्द्र पक्षले एकले अर्कोलाई गरेको कारबाही मान्य नहुने निर्णय गरेको छ। केन्द्रीय कार्यकारिणी समितिमा अल्पमतमा रहेको महन्थ–राजेन्द्र पक्ष आयोगको निर्णयबाट खुसी छ। तर, केन्द्रीय कार्यकारिणी समितिमा बहुमत रहेको उपेन्द्र–बाबुराम पक्षले भने दलको आन्तरिक विषयमा आयोगबाट अंकुस लगाउने काम भएको ठहर गरेको छ। 

Advertisement

जसपाको महन्थ–राजेन्द्र पक्षका नेता लक्ष्मणलाल कर्ण निर्वाचन आयोगको निर्णय स्वागतयोग्य भएको बताउँछन्। 

‘कानुन बमोजिम संवैधानिक निकाय (निर्वाचन आयोग)ले स्वतन्त्रपूर्वक निर्णय गरेको छ। त्यो निर्णय स्वागतयोग्य छ’, कर्णले भने,‘स्वतन्त्र संवैधानिक निकायले आफ्नो विवेक प्रयोग गरेर गरेको फैसला मानेर जान्छौं, त्यसका विषयमा थप के गर्न सकिन्छ त्यस विषयमा छलफल गरेर टुंगोमा पुग्छौं।’

दुबै पक्षको निर्णयलाई आधिकारिकता नदिने निर्वाचन आयोगको निर्णयका विषयमा छलफल गर्न महन्थ–राजेन्द्र पक्षको कार्यकारिणी र निर्वतमान सांसदहरुको बैठक समेत बोलाइएको छ। 

बाबुराम–उपेन्द्रपक्षका नेता महोम्मद इस्तियाक राई भने निर्वाचन आयोगबाट पार्टीको आन्तरिक पद्दतिमा हस्तक्षेप र अंकुस लगाउने काम भएको बताउँछन्। ‘पार्टीले दलीय अनुशासन कायम गर्न कारबाही गर्ने तथा निष्कासन गर्न सक्छ। त्यो दलको आन्तरिक निर्णय भयो, त्यो विषयलाई निर्वाचन आयोगले अंकुस लगाउने काम गर्‍यो। आयोगको  निर्णयले दलको निर्णयलाई अंकुस लगाउने काम गर्‍यो’ राईले भने।

जसपा नेता राई निर्वाचन आयोगले पनि ‘सेटिङ’का आधारमा निर्णय गरेको आरोप लगाउँछन्। ‘केपी ओलीको सेटिङमा मतियार भएर फैसला गरेर जान खोजिएको छ। त्यसको राजनीतिक र न्यायिक दुवै उपचार खोज्छौं,’ राईले भने। 

महन्थ ठाकुरसहित ११ जनाले पार्टीको अनुशासन उल्ल‌ंघन गरेकाले कारबाही गरिएको नेता राईको दाबी छ। ‘पार्टीको हित विपरीतका गतिविधि गर्नेलाई पार्टीको बहुमतले  अनुशासनको कारबाही गर्न नपाउने पनि हुन्छ?’ राई प्रश्न गर्छन्, ‘उपेन्द्र यादव र महन्थ ठाकुरले राजनीतिबाट सन्यास लिए भने हाम्रो पार्टी नै रहँदैन त? दुवै अध्यक्ष छैनन् भनेर निर्वाचन आयोगले हाम्रो पार्टी नै कोल्याप्स गरिदिने हो त?’

आयोगको आइतबारको  बैठकले पार्टी अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले एक–अर्कालाई कारबाही गरेको निर्णयसहित पदाधिकारी हेरफेर गर्न दिएका दुवै निवेदनलाई आधिकारिक मान्न नसक्ने निर्णय गरेको हो।

आयोगले साबिकका दुवै अध्यक्ष कायम रहने निर्णय गरेको छ। ‘विधानतः केन्द्रीय समितिका दुईजना अध्यक्ष केन्द्रीय कार्यकारिणी समितिमा रहने व्यवस्था भएकोमा एक जना अध्यक्ष उपेन्द्र यादवको हस्तक्षार भइ अर्का अध्यक्ष महन्थ ठाकुरसमेत चारजना पदाधिकारीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको र अर्का अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षरबाट अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको देखिन्छ। एकजना अध्यक्षबाट मात्र हस्ताक्षर भई आएको विषयलाई प्रमुख पदाधिकारीबाट जानकारी गराएको विषय हो भनी भन्न सकिएन,’ आयोगको निर्णयमा उल्लेख छ।