July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

भियतनाममा भीषण बाढीमा, ५५ जनाको मृत्यु, कैयाैं बेपत्ता

एजेन्सी – पूर्वी एसियाली मुलुक भियतनामको मध्यक्षेत्रमा आएको भिषण वर्षासँगैको बाढी पहिरोमा परेर कम्तीमा ५५ जनाको मृत्यु भएको छ।

भियतनामको केन्द्रीय विपद् समितिले  १० दिनको अवधिमा बाढी पहिरोमा परेर अरु केही व्यक्ति बेपत्ता भएको जनाएको छ। 

भियतनामको मध्य क्षेत्रका क्वाङ ट्रि, थुआ थिएन हुई र क्वाङ नाम प्रान्तमा सबैभन्दा बढी असर परेको छ। थुआ थिएन प्रान्तको फोङ डाइन जिल्लामा बाढी पहिरो पीडितको उद्धारका लागि गएका १३ जना उद्धारकर्मीको पहिरोमा परेर ज्यान गएको समितिले जनाएको छ।

Advertisement

केन्द्रीय विपद् समितिका अनुसार बाढी पहिरोमा परेका व्यक्तिहरुको उद्धार र खोजी कार्य जारी रहेको छ। देशको सेना र प्रहरीलाई पनि उद्धार र राहतका कार्यमा खटाइएको छ। 

गत अक्टोबर ५ देखि १३ तारिखसम्मको अवधिमा भियतनामको मध्यक्षेत्रमा ठूलो वर्षा भएको थियो। केही क्षेत्रमा २ हजार मिलिमिटरसम्म वर्षा भएको छ।

झण्डै ९०० हेक्टर धानखेती र ५ हजार ५०० हेक्टर अन्य बालीमा बाढी पसेको छ। यहीबीच चार लाख ४५ हजार पशुपक्षी पनि बाढीको चपेटामा परेका केन्द्रीय समितिले जनाएको छ।