June 15, 2021, Tuesday
२०७८ असार १
1:37:26 pm

जापानको जीडीपी ४.६ प्रतिशतले खुम्चियो

205

टोकियो- जापानको कूल गार्हस्थ उत्पादन (जीडीपी) सन् २०२० मा ४.६ प्रतिशतले खुम्चिएको छ।

सन् १९५५ यता एक आर्थिक वर्षमा यति ठूलो मात्रामा जीडीपीमा कमी आएको पहिलोपटक रहेको जापानी तथ्यांक विभागले जनाएको छ। सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कटका क्रममा जापानको अर्थतन्त्र ३.६ प्रतिशतले संकुचित भएको थियो।

साथै, यस वर्ष सन् २०२१ को जनवरीदेखि मार्चको तीन महिनाको अवधिमा पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा देशको अर्थतन्त्र ५.१ प्रतिशतले घटेको छ। जापानको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा कोरोना भाइरस संक्रमण रोक्न सरकारले ल्याएको आपतकालीन उपायहरुका कारण अर्थतन्त्रमा मन्दी आएको उल्लेख छ।

गत वर्ष नोभेम्बरदेखि कोभिड-१९ को संक्रमण बढेसँगै सरकारले टोकियो महानगर क्षेत्रमा जनवरीको सुरुतिर आपतकालीन स्थितिको घोषणा गरेको थियो। तर मार्चको अन्त्यतिर प्रतिबन्ध हटाउनुअघि जापानमा टोकियोसहित ४७ वटा प्रिफेक्चरमा आपतकाल लगाइएको थियो।

आपतकालका दिनहरुमा मानिसलाई घरभित्रै बस्न ताथ रेस्टुरेण्ट र बारहरु खुल्ने समय छोट्याइएको थियो जसबाट निजी उपभोगमा १.४ प्रतिशतले गिरावट आएको थियो।

सन् २०२० को दोस्रो त्रैमासिक अवधिमा तीव्ररुपमा गिरावट आएको जीडीपीमा अक्टोबर-डिसेम्बरको अवधिमा अर्थतन्त्र पुनः पुरानै लयमा फर्किएको थियो। यस अवधिमा जापानको उपभोग र निर्यात दुवै बढेको थियो।

केही विश्लेषकहरुका भनाइमा कोभिड-१९ को आपतकाल घोषणाका कारण जापानको अर्थतन्त्र चालु अप्रिल-जुन अवधिमा पनि केही खुम्चिनेछ। जापानमा कोभिड-१९ को खोप लगाउने दर पनि विकसित मुलुकहरुको दाँजोमा न्यून रहेको छ।