काठमाडौं । सिन्धुलीमा आफ्नै मामा-माइजूको विभत्स हत्या गरेर फरार भएको आरोपमा २२ वर्षपछि एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको कटारीका केदारसिंह थापा रहेका छन् ।
थापामाथि २०६० साल पुस ६ गते राति आर्थिक लेनदेनको विषयलाई लिएर दुधौली नगरपालिका–१३ का ४५ वर्षका रत्नबहादुर कार्की र दुर्गामाया कार्कीको हत्या गरेको आरोप छ ।
धारिलो हतियार प्रयोग गरी हत्या गरेपछि फरार रहेका थापालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले दाङको लमही नगरपालिका–९ जलकुण्डीबाट पक्राउ गरेको हो ।
हत्यापछि विभिन्न ठाउँमा लुकेर बसेका उनलाई नेपाल प्रहरीले विशेष सूचनाका आधारमा गत असार २३ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कार्की दम्पती थापाका कान्छो मामामाइजू हुन् । घटनापछि मृतकका छोरा दुर्गाबहादुर कार्कीले थापाविरुद्ध किटानी जाहेरी दिएका थिए ।
थापा केही वर्ष विदेशमा बसेर आएका थिए । मामा–भान्जाबीचमा जग्गा किन्ने विषयमा आर्थिक लेनदेन भएको थियो तर पछि मामाले जग्गा पास गर्न नमानेपछि हत्या भएको प्रहरीको भनाइ छ ।
अभियुक्त थापालाई जिल्ला अदालत सिन्धुलीबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।