काठमाडौं । पुष्पपराग साहित्य प्रतिष्ठानले पुरस्कार तथा सम्मान कार्यक्रम घोषणा भएको छ । प्रतिष्ठानको प्रत्येक वार्षिकोत्सवमा विभिन्न विधामा प्रदान गर्दै आएको यस वर्षको पुरस्कार तथा सम्मान कार्यक्रम घोषणा गरेको हो ।
संस्थाले प्रदान गर्ने पुष्पपराग वर्ष सम्मान पुरस्कार–२०७८ को लागि साहित्यकार बखत बहादुर थापा छनौट भएका छन् । त्यस्तै, नियमित रूपमा विभिन्न दाताले पुष्पपराग साहित्य प्रतिष्ठानका छाताभित्र रहेर प्रदान गर्ने पुरस्कारहरू पनि प्रदान गर्ने घोषणा गरेका छन् । जस अन्तर्गत तिलकुमारी खड्का स्मृति पुरस्कार भगिरथी श्रेष्ठ, नील–गङ्गा भाषा साहित्य पुरस्कार प्रा. डा. योगेन्द्र यादव, पद्मवती गीतसंगीत पुरस्कार गायिका लोचन भट्टराई, शुक्रमन्दिर लोक साहित्य पुरस्कार सङ्गीतकार वादल लिम्बू, मुना स्मृति आख्यान तथा काव्य पुरस्कार, साहित्यकार वि.के. पाल्पाली, मरणोपरान्त, कृष्णलाल गोपिनी शिवाकोटी स्मृति पुरस्कार, गीतकार तथा गायक सुरेश शाही, परममाया/कृष्ण प्रसाद थपलिया स्मृति पुरस्कार भाषाविद् मुकुन्दशरण उपाध्यायलाई प्रदान गर्ने निर्णय गरेका छन् ।
पुरस्कार छनौट समितिले भिन्नभिन्न विधामा प्रस्ताव गरेका तीनतीन वटा प्रस्तावित नाममध्ये एकेक जनाको नाम पुष्पपराग साहित्य प्रतिष्ठानको कार्यसमितिले पारित गरेको र यसैगरी गीतसंगीत, कला, भाषा तथा साहित्यमा विशिष्ट योगदान पुर्याउँदै आएका एक जनालाई प्रदान गरिने मानार्थ सदस्य गायिका ज्ञानु राणालाई र पुष्पपराग युवा साहित्य सम्मान गजलकार तथा कथाकार मन्दिरा मधुश्रीलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष डा. प्रदीप मैनालीले बताए ।
पुरस्कार छनौटका लागि निश्चित मापदण्ड र कार्यविधि प्रतिष्ठानका कार्यसमितिले तय गरेका थिए । सोही माप दण्ड र कार्यविधिभित्र बसेर नै पुरस्कारका लागि सिफारिस गरिएका छनौट समितिका संयोजक तथा प्रतिष्ठानका सचिव कवि तथा उपन्यासकार टि. एन. भट्ट विश्वामित्रले बताए ।
उल्लेखित पुरस्कार, सम्मान तथा मानार्थ सदस्यता प्रतिष्ठानको वार्षिकोत्सवको दिन प्रदान गरिने छन् । कार्यक्रम चैत २६ गते नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ पौडेल सभाकक्षमा दिनको ठिक १ बजे हुन लागेको कार्यक्रम संयोजक कवि तथा गीतकार राजबाबु श्रेष्ठले जानकारी दिए ।