काठमाडौं । सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ परेका छन् । दोलखामा बरामद ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिक साथी भनिने गेङ्रु, उनका सहयोगी सनत प्रधान र सुन किनबेचमा संलग्न लालबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये चिनियाँ नागरिक गेङ्रुले नै चीनबाट सुन मगाएको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, दोलखालाई बुझाउन लागिएको जनाइएको छ ।
यस प्रकरणमा यसअघि ७ जना पक्राउ परिसकेका छन् । यो गिरोहले दोलखाको नाकाबाट आलुको बोरामा लुकाएर सुन तस्करी गर्ने गरेको थियो ।
पछिल्लो समय सुनसहितको आलुको बोरा लुटिएपछि यो विषय प्रहरीसम्म पुगेको थियो र अनुसन्धानका क्रममा सुन तस्करीमा संलग्नहरु पक्राउ परेका हुन् । यसरी आउने सुन बौद्ध, ठमेल लगायतका क्षेत्रमा बिक्री हुने गरेको प्रहरीले जनाएको छ ।