लन्डन । बेलायतमा नर्सहरूले कोष जुटाउन च्यारिटी इभेन्ट सम्पन्न गरेको छन् । नेपलिज नर्सिङ एसोसिएसन यूकेले शनिबार लन्डन ह्यारोस्थित ब्लु रुम स्पोर्टस् भेन्यूमा च्यारिटी कार्यक्रम गरेको हो । कोभिड महामारीपछिको यो संस्थाको पहिलो च्यारिटी हो ।
सन् २००८ मा स्थापना भएको एसोसिएसनले नेपाल र बेलायतमा विभिन्न स्वास्थ्य शिविर, नेपालको दुर्गम क्षेत्रमा बर्थिङ सेन्टर स्थापना, नेपालबाट बेलायत आउन चाहने नर्सहरुका लागि जानकारीमूलक अन्तरक्रिया आदि गर्दै आएको छ ।
एसोसिएसनले जुम्लामा बर्थिङ सेन्टर स्थापना गरी गत वर्ष सरकारलाई हस्तान्तरण गरिसकेको छ । पूर्व अध्यक्ष, सल्लाहकार एवं ट्रष्टी प्रसुना कंडेलको कार्यकालमा उक्त बर्थिङ सेन्टर स्थापना प्रक्रिया अगाडि बढेको थियो ।
सधैं अरुको हेरचाह र ज्यान बचाउन तल्लीन एसोसिएसनले यसपटक भने आफ्नै लागि केही कोष जुटाउन लन्डनमा च्यारिटी इभेन्ट गरेका हुन् ।
राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा एसोसिएसनकी उपाध्यक्ष रस्मिता दर्लामीले स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले नेपाली नर्सहरुले संकटका बेला सधैं अग्रमोर्चामा रहेर सेवा गरेको भन्दै तारिफ गरे । राजदूत आचार्यले भने, “बेलायतका नर्सहरुले नेपालको स्वास्थ पूर्वाधारमा मात्र होइन्, आफ्नो पेशागत दक्षता प्रदान गरेर सहयोग गरिरहेका छन् ।” उनले बेलायत-नेपाल सम्बन्ध सुदृढीकरणमा जनस्तरबाट नर्सहरुको भूमिका उल्लेखनीय रहेको स्पष्ट पारे ।
कार्यक्रममा एसोसिएसनकी अध्यक्ष सुनिता गौतमले प्रिजेन्टेसनमार्फत एसोसिएसनले विगतमा गरेका गतिविधि र भावी योजना सुनाइन् । नेपाली नर्सहरुलाई अफ्ट्यारो पर्दा आर्थिक सहयोग गर्ने योजना अनुरुप नर्सिङ वेलफेयर फण्ड स्थापनाका लागि च्यारिटी गरिएको गौतमले प्रष्ट्याइन् ।
पहिलो सत्रको औपचारिक कार्यक्रममा रोयल कलेज अफ नर्सिङकी अध्यक्ष सिसिलिया सोब्रनी, फेलिसिया क्वाकु ओबीइ, ग्रीनवीच बरो काउन्सिलका उपमेयर जीत रानाभाट, पूर्व डिएसपी शिवजी श्रेष्ठ, एसोसिएसनकी संस्थापक अध्यक्ष अजिता सिम्खडा, अग्रज नर्स टुका स्यान्डवेल क्षेत्रीलगायतले मन्तव्य दिएका थिए । सदस्य शोभा बोहोराले पनि एसोसिएसनका गतिविधि समेटिएको ‘प्रिजेन्टेसन’ दिएकी थिइन् । यश चरणको कार्यक्रमलाई महासचिव श्रीजा डंगोलले सञ्चालन गरेकि थिइन् ।
कोषाध्यक्ष अप्सरा सन्जेल र सांस्कृतिक सचिव प्रजु सापकोटाले सञ्चालन गरेको दोस्रो चरणको कार्यक्रममा गायक गायिका दीपक थापा र शर्मिला बर्देवाले गायन प्रस्तुत गरेका थिए भने स्थानीय कलाकारहरुले कुमारी, लाखे, मारुनी लगायत नाच प्रस्तुत गरेका थिए । यस्तै, बिनु लामिछाने, सुरक्षा पंगेनी, सुस्मिता थापा लगायत स-साना बालबालिकाले पनि मौलिक पहिरनमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा अप्सरा खुलालले कविता वाचन गरेकी थिइन् ।
कार्यक्रममा एसोसिएसनले कलाकार, प्रायोजक तथा संस्थालाई विशेष योगदान गर्ने व्यक्तित्वलाई ‘प्रशंसा पत्र’ बाट सम्मान गरेको थियो । राजदूत आचार्य, अध्यक्ष गौतम लगायत अतिथीहरुले सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा गाना र पाकिस्तानी नर्सिङ एसोसिएसन अध्यक्ष लगायत चेल्सी एण्ड वेष्टमिनिस्टर हस्पिटल एनएचएस फाउण्डेशन ट्रष्टकी डिभिजनल डिरेक्टर अफ नर्सिङ निकोला रोज, नेपलिज डक्टर्स एसोसिएसन यूके, एनआरएनए यूके, नेपाल पत्रकार महासंघ यूके, विभिन्न नेपाली संघसंस्था र व्यक्तिगत रुपमा सयौं मानिसको सहभागिता थियो ।