March 15, 2025, Saturday
२०८१ चैत्र २
1:37:26 pm

नेपाल खेलकुद महासंघ समाजवादी प्रदेश १ कमिटीको विस्तारित बैठक सम्पन्न

3.6K

सुनसरी । नेपाल खेलकुद महासंघ समाजवादी १ नम्बर प्रदेश कमिटीको विस्तारित बैठक सुनसरीको इटहरीमा सम्पन्न भएको छ । प्रदेश एकका विभिन्न जिल्लाबाट विस्तारित बैठकमा सहभागी खेलकुद महासङ्घका पदाधिकारी तथा सदस्यलाई केन्द्रीय अध्यक्ष केशव कुमार विष्टले सङ्गठनमा बसेर जिम्मेवारी बहन नगर्ने सदस्यहरूलाई बिदा लिन आग्रह समेत गरेका थिए ।

नेपाल खेलकुद महासंघ समाजवादीको सिफारिसमा प्रदेश एकको खेलकुद विकास बोर्डको सदस्य सचिव तथा बोर्ड सदस्य र जिल्ला खेलकुद विकास समितिमा मनोनित भएका सदस्यहरूलाई बधाई दिँदै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका विष्टले समग्र खेलकुदको विकासमा लागेर हिजो अरुले गरेको भन्दा राम्रो काम गर्नेछ भन्ने अपेक्षा आफूहरूले र सङ्गठनले गरेको बताए ।

३ सय ३१ जनाको केन्द्रीय समिति रहेको खेलकुद महासङ्घमा ५१ जना केन्द्रीय सदस्य प्रदेश एकबाट रहेका बताएका थिए । जिल्ला खेलकुद विकास समितिमा नियुक्ति पाएका सदस्यहरूलाई निर्देशन दिँदै विष्टले केही परिवारमा दिएर बचेको जम्मै समय प्रदेशको खेलकुदको विकासमा लगाउन र रिजल्टसहितको उपलब्धि हासिल गर्न निर्देशन दिए ।

Advertisement

‘क्षमता विकास गर्नुस, असल नेता तथा नागरिक हुनुस् अरु जे भएपनि आउँदै गरेको नबौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा धेरै भन्दा धेरै मेडल ल्याउनुस् ’ विष्टले बताए ।

कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास मन्त्री राजन राईले खेलसँग चुनाव पनि नजिकिँदै आइरहेकाले सभ्य नागरिकको रुपमा पार्टीका कामहरू अघि बढाउन मातहतका नेता तथा कार्यकर्तालाई अनुरोध गरे । छोटो समयमा प्रदेश एकको खेलकुद विकास बोर्डले राम्रो काम गरिरहेको भन्दै प्रशंसा समेत गरे ।

नेकपा एकीकृत समाजवादीका प्रदेश एक अध्यक्ष बलदेव चौधरीले खेलकुदबाट राजनीतिमा आउन सकिने बताए । आफू पनि एक समय ह्याण्डवल र भलिबल खेलाडी रहेको सुनाए । चौधरीले खेलको नियम राजनीतिक गर्ने मान्छेले सिक्नु जरुरी भएको समेत बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश एक इन्चार्ज घनेन्द्र बस्नेतले सबैको जीवन केही न केही रुपमा खेलमा जोडिने हुँदा खेल जीवनको महत्वपूर्ण हिस्सा भएको बताए ।

कार्यक्रममा नेपाल खेलकुद महासंघ समाजवादीका प्रदेश इन्चार्ज तथा प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले आफू पार्टीप्रति वफादार रहँदै पाटीकै निर्देशन र सिफारिसको आधारमा काम गर्दै आएको बताउनु भयो । छोटो समयमा आफूहरूले बोर्डमार्फत महत्वपूर्ण काम गरेको बताउँदै त्यसको फाइदा पार्टीलाई नै हुने बताए ।

नेपाल खेलकुद महासंघ समाजवादीको प्रदेश एक अध्यक्ष शंकर थापाको अध्यक्षतामा भएको भेलालाई महासङ्घका सुनसरी जिल्ला कमिटीका सदस्य तथा पार्टीका इटहरी उपमहानगर कमिटीका अध्यक्ष गणेश बुढाथोकीले सञ्चालन गरेका थिए ।

कार्यक्रमको अवसर पारेर खेलकुद महासंघ समाजवादीले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा नियुक्त भएका हंसराज वाग्ले, सदस्यमा नियुक्त हुनुभएका शैलेश कुमार विष्ट, जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोला, झापा जिल्ला खेलकुद विकास समितिकी उपाध्यक्ष गंगा कोइराला भुर्तेललाई महत्वपूर्ण जिम्मेवारी पाएको भन्दै बधाई तथा शुभकामना प्रदान गरीएको थियो ।

त्यसैगरी महासंघले खेलकुद विकास समिति सुनसरीकि उपाध्यक्ष सरस्वती लुइटेल, जिल्ला खेलकुद विकास समिति धनकुटाका अध्यक्ष मनोज कुमार राई, जिल्ला खेलकुद विकास समिति तेह्रथुमका अध्यक्ष राजेन्द्र बराल, जिल्ला खेलकुद विकास समिति खोटागका अध्यक्ष सुमन राई, ओखल्ढुगाका अध्यक्ष प्रविन श्रेष्ठ, उदयपुरका उपाध्यक्ष अनिशा विष्ट, सुनसरीका खेम श्रेष्ठ, इलामका सदस्य राजन चाम्लिङ, प्रदेश खेलकुद विकास बोर्डका सदस्य सन्दीप राई र रोसनी राईलाई समेत बधाई सम्मान गरीएको थियो । उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथी पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेत तथा प्रदेश एकका सामाजिक विकास मन्त्री राजन राईले प्रशंसा पत्र प्रदान गरेका थिए ।