काठमाडौं । गायिका तथा पूर्वसांसद कोमल वलीका पिता ललितबहादुर वलीको निधन भएको छ । शुक्रबार दाङको तुलसीपुरस्थित आफ्नै निवासको छतमा घाम ताप्न जाने क्रममा खसेर उनको निधन भएको हो ।
गायिका वलीले सामाजिक सञ्जालमार्फत बुवाको ‘महाप्रस्थान’ भएको जानकारी दिएकी छन् । उनको पार्थिव शरीरलाई अन्तिम दर्शन र श्रद्धाञ्जलीका लागि तुलसीपुर (बाहिनी गेट नजिकै) रहेको निजी निवास ‘दिपा–ललित निवास’ मा राखिएको छ ।
८५ वर्षको उमेरमा निधन भएका वलीका ‘दर्पण’ (राष्ट्रिय गीत सङ्ग्रह) र ‘मातृभूमि’ (कविता सङ्ग्रह) गरी दुईवटा कृति प्रकाशित छन् ।
उनका सातवटा गीतहरू रेडियो नेपालमा रेकर्ड भएका छन्, जसमा देउसी भैलो, तीज र भजनहरू समावेश छन् ।
ललित दाङको सामाजिक र साहित्यिक संस्थाहरूमा महत्त्वपूर्ण जिम्मेवारीमा थिए । ललित समेत दाङ ज्येष्ठ नागरिक जिल्ला सङ्घको सदस्य, दाङ साहित्य प्रतिष्ठान, सङ्गीत नाट्य प्रतिष्ठान र पृथ्वीनारायण शाह प्रतिष्ठान तुलसीपुरको सदस्य समेत रहेका छन् ।