ललितपुर । विश्व पानी दिवसका अवसरमा आइतबार ललितपुरमा मनाइएको दोस्रो पानी सम्मेलनमा पानीलाई लैङ्गिकतासँग जोडेर नहेरिएसम्म सन्तुलित विकास सम्भव नभएको धारणा व्यक्त भएको छ ।
विश्व पानी दिवस (२२ मार्च) का अवसरमा नेपालको सन्दर्भमा पानीको सम्बन्ध बढी महिलासँग भएकाले पानीलाई महिलासँग छुट्टाएर गरिने कुनै पनि कार्यक्रम सफल नहुने दाबी गरिएको हो ।
जल तथा ऊर्जा आयोगको सचिवालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अक्सफाम, इसिमोड, राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घ नेपाललगायतका संस्थाहरूको आयोजनामा ललितपुरमा सम्पन्न दोस्रो पानी सम्मेलनका क्रममा वक्ताहरूले उक्त धारणा राखेका हुन् । विश्व पानी दिवस २०२६ को विश्वव्यापी नारा ‘जहाँ पानी बग्छ त्यहाँ समानता मौलाउँछ’ भन्ने छ भने नेपालको नाराचाहिँ ‘पानीमा लैङ्गिक समानता’ भन्ने छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री अनिलकुमार सिन्हाले पानीमा लैङ्गिक समावेशिता सुनिश्चित गर्नु केबल सामाजिक दायित्व मात्र नभई दिगो विकासको अपरिहार्य आधार भएको बताएका छन् । नेपालमा जलस्रोतको प्रचुर उपलब्धता हुँदाहुँदै पनि यसको उपयोग, वितरण र व्यवस्थापनमा अझै पनि चुनौतीहरू विद्यमान छन् भन्दै उनले विशेष गरी ग्रामीण क्षेत्रमा महिलाले पानी सङ्कलनमा खर्च गर्ने समय र श्रमले उनीहरूको शिक्षा, स्वास्थ्य तथा आर्थिक अवसरहरूमा प्रत्यक्ष असर पारिरहेको पनि बताए ।
संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको थियो । सन् १९९२ मा एजेन्डा २१ मा समाहित गरिएको पानी दिवसको रूपरेखालाई आत्मसात् गर्दै सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको हो । त्यसै क्रममा नेपालमा आइतबार मनाइएको पानी सम्मेलन दोस्रो हो ।