काठमाडौं । गत २१ फागुनमा भएको निर्वाचनपछि बसेको पहिलो प्रतिनिधिसभा बैठकमा नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आआफ्नै सांस्कृतिक पहिरनमा उपस्थित भएका सांसदहरुको उपस्थिति देख्दा सांस्कृतिक फूलबारीझैँ देखिएको थियो ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । उनीहरूलाई सिंहदरबारस्थित नवनिर्मित संघीय संसद्को अस्थायी रूपमा बनेको बहुउद्देश्यीय हलमा शपथ ग्रहण गराइएको हो ।
शपथलगत्तै प्रत्येक सांसदहरूले संघीय संसद् सचिवालयले एक एक वटा झोला पनि उपलब्ध गराएको छ । उक्त झोलामा संविधान, प्रतिनिधि सभा नियमावली, संयुक्त बैठक संचालन नियमावली राखिएको छ ।
संसद् सचिवालयका अनुसार ६३ जना सांसदहरूले आफ्नै मातृभाषामा शपथ लिएका थिए ।


