April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

तराई–मधेश फास्टट्रयाक: साढे १६ अर्ब खर्च हुदाँ प्रगति भने, १६ प्रतिशत मात्र !

2.9K

काठमाडौं-राजधानीलाई तराई–मधेशसँग जोड्ने द्रुत मार्ग (फास्टट्रयाक) मा हालसम्म १६ अर्ब ६६ करोड रुपैयाँ खर्च भइसकेको छ। राष्ट्रिय गौरवको  यो आयोजनामा प्रगति भने  १६ प्रतिशतमात्र छ।

द्रुतमार्गको निर्माण कार्य विभिन्न कारणले ढिला भएको भन्दै सेनाले हाल भने कामले गति लिएको र निर्धारित समयसीमाभित्रै निर्माण सकिने दाबी गरेको छ।

एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण भइरहेको फास्ट्र¥याकको लम्बाई ७२ दशमलब ५ किलोमिटर हुनेछ। एसियाली राजमार्ग डिजाइन मापदण्ड अनुसार निर्माण हुने यो आयोजनाले विभिन्न व्यवधानका बाबजुद हाल आएर गति लिएकाले समयसीमाभित्र निर्माण सम्पन्न हुने सम्भावना बढेको सेनाले जनाएको छ।

Advertisement

२०७४ वैशाखमा सरकारले सो आयोजनाको व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको थियो। यस्तै १ भदौ २०७६ मा सो आयोजनाको डिपिआर स्वीकृत गरिएको थियो। सो डिपिआर अनुसार आयोजनाको अनुमानित लागत १ खर्ब ७५ अर्ब रहेको र द्रुतमार्ग आयोजनाको निर्माण आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। 

सेनाले लामो समयसम्म डिपिआर उपलब्ध नहुनु र उपलब्ध भइसके पनि स्वीकृति हुन नसक्नु तथा अन्तर्राष्ट्रिय परामर्शदाताको छनोटमा हुन गएको ढिलाइ तथा कोभिड–१९ का कारण केही समय आशातित गतिमा निर्माण कार्य अघि बढ्न नसकेको दाबी गरेको छ। हाले अन्तर्राष्ट्रिय परामर्शदाता र सम्बद्ध टिमको आगमन एवं जटिल पाटोको रुपमा रहेको सुरुङ मार्गका लागि कम्पनीहरुको छनोटका लागि मूल्यांकन भइरहेको सेनाले बताएको छ।

आयोजनाको काम छैटौं चरणमा भइरहेको छ। आयोजनाको वार्षिक प्रगति भौतिकतर्फ ४२ दशमलब ८५ प्रतिशत र  वित्तियतर्फ ४२ दशमलब ८० प्रतिशत रहेको सेनाले उल्लेख गरेको छ। यसैगरी समष्टिगत प्रगति भौतिकतर्फ १६ दशमलब २१ प्रतिशत तथा वित्तियतर्फ ९ दशमलब ५२ प्रतिशत रहेको छ। 

आयोजनाको कुल लम्बाइ ७२ दशमलब ५ किमीमध्ये ३ वटा सुरुङ मार्गको जम्मा लम्बाइ ६ दशमलब ४१ किमी, विभिन्न पुलहरुको लम्बाइ १० दशमलब ५९ किमी र ढुंगा माटोको कट फिल गर्नुपर्ने सडक खण्डको लम्बाइ ५५ दशमलब ५ किमी रहेको छ। जस अन्तर्गत आयोजनाको ४४ दशमलब १ किमी सडक खण्डको सब ग्रेड लेभलसम्म तयार गर्न समष्टिगत माटो काट्ने र पुर्ने काम हालसम्म ८८ प्रतिशत सम्पन्न भएको सेनाले जनाएको छ।