काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्स (यूएई)का लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । बिहीबार साँझ यूएई पुगेका उनले सोही साँझ नेपाल–दुबइ व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पूँजी प्रवाह गर्न आह्वान गरेका हुन् ।
उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिएका थिए ।
दुबइ उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा अवुधाबीस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासंघद्वारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा युएइका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले युएइ र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सबल तुल्याउन घनिभूत सहकार्य एवं साझेदारी अपरिहार्य भएको बताएका थिए ।
कार्यक्रममा बोल्दै महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र युएइबीच आर्थिक एवं व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा युएइ र नेपालको उद्योग वाणिज्य क्षेत्रका नेतृत्वकर्ता तथा प्रतिष्ठित उद्यमी व्यवसायीहरुको उपस्थिति थियो ।
प्रधानमन्त्री प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुने सिलसिलामा बिहीबार अवुधाबी पुगेका थिए । उनले अवुधाबीस्थित ग्रान्ड मस्कको भ्रमण गरेका थिए ।