दमाम । साउदीमा किराँत राई समुदायहरूको साकेला उभौली चाड भव्य रुपमा मनाइएको छ । किरात येले संवत् ५०८३ को साकेला उभौली गत जुन २ तारीखका दिन साउदी अरबको सफ्वास्थित सादी रिसोर्टमा विविध सांस्कृतिक, गायन तथा नित्य लगायतका मनोरञ्जनात्मक कार्यक्रमसहितको साकेला मनाइएको थियो ।
किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति साउदी अरबले आयोजना गरेको औपचारिक कार्यक्रममा नेपाली राजदुतावास साउदी अरब पूर्वी क्षेत्रका जनसम्पर्क अधिकारी नारायण पासवानको प्रमुख आतिथ्यतामा, नेपाल आदिवासी जनजाति महासंघ साउदी अरबका केन्द्रीय अध्यक्ष खेम गुरुङको विशेष आतिथ्यतामा र किराया क्षेत्रीय कार्यसमिति जेद्दाका सचिव गुराँस राई र रियाद क्षेत्रीय कार्यसमितिका अध्यक्ष बिज्ञान राई, किराया रियादका प्रमुख सल्लाहकार सुजनशेर राई, नेपाल आदिवासी जनजाति महासंघ साउदिका संरक्षक ओम घले, महासंघ प्रमुख सल्लाहकार बिरेन्द्रकुमार चौधरी, महासंघ संरक्षक श्रीप्रसाद यावा, नेपाली दिदिबहिनी समुह दमामका अध्यक्ष तुलसीमाया गुरुङ, गैर आवासीय नेपाली संघ साउदी अरबका उपाध्यक्ष रबिना अर्याल, गैर–आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका मध्यपूर्व संयोजक जोन अर्याल, संघीय लिम्बुवान सामाजिक मञ्च दमामका संस्थापक अध्यक्ष राजेश सेन्दाङ, गैर–आवासीय नेपाली संघ साउदीका महासचिव उमेश भट्टराई, तमुधी प्रवास साखा साउदीका सल्लाहकार सुक गुरुङ, नेपाल मगर संघका अध्यक्ष बम थापामगर, नेपाल तामाङ घेदुङ संघ दमामका सल्लाहकार राममाया तामाङ, युवा कुमाल समाजका अध्यक्ष ओम कुमाल, याक्थुङ चुम्लुङ समाज रियादका प्रतिनिधि जयन्ती अन्छङ्बो, जनप्रगतिशिल मञ्च, प्रवासि नेपाली मञ्च, नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली एकता समाज पानसका अध्यक्ष कुबेर हुमागाई, संघीय लिम्बुवान सामाजिक मञ्च, हेल्प मधेसी, नेपाली साझा मञ्च, अन्तर्राष्ट्रिय रोल्पाली समाजका अध्यक्ष भिम घर्ती मगर, सुदुरपश्चिमेली समाजका बरिस्ठ उपाध्यक्ष पदम महत, समाजसेवी बलराम थापा, शिक्षाका अनुजा बुढाथोकी, दमाम भेट्रान एफसिका महासचिव पासाङ शेर्पा लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा किराँती राष्ट्रिय गान गाएर उद्घाटन गरिएको थियो भने उक्त कार्यक्रमको औचित्यको बारेमा किराया केन्द्रीय कार्यसमिति साउदीका बरिस्ठ उपाध्यक्ष भोगिन्द्र चाम्लिङले स्वागत मन्तव्यसँगै प्रष्ट पारेका थिए । त्यस्तै, गैर–आवासीय नेपाली संघका महासचिव उमेश भट्टराई, समाजसेवी तथा शिक्षाका अनुजा बुढाथोकी थापा, दिदिबहिनी समुह दमामका अध्यक्ष तुलसीमाया गुरुङ, गैर–आवासीय नेपाली संघ साउदीका उपाध्यक्ष रबिना अर्याल, किराया क्षेत्रीय कार्यसमिति रियादका अध्यक्ष बिज्ञान राई, नेपाल आदिवासी जनजाति महासंघ साउदीका अध्यक्ष खेम गुरुङ, नेपाली राजदुतावास पूर्वी क्षेत्रका जनसम्पर्क अधिकारी नारायण पासवान लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
औपचारिक कार्यक्रमको सञ्चालन सुमन सहयात्रीले गरेका थिए भने किराया साउदी अरबका केन्द्रीय अध्यक्ष चित्रकुमार चाम्लिङले कार्यक्रमको अध्यक्षता गरेका थिए ।
महेन्द्र राईले ‘हुरुक्कै भए म’ बोलको गीत गाएर दर्शकलाई सुरुवातमा नचाएका थिए भने क्रमशः गौरव तामाङले हेलम्बुको बजारमा, तेम्बा लामाले बादलको झ्याउरे र योगेश राईले फेवातालमा साइली गित गाएर मनोरञ्जन दिलाएका थिए त्यस्तै, किराँती भेषैमा गीतको बोलमा दिक्षा थापा र दिव्या थापाले नृत्य प्रस्तुत गरेका थिए भने गुराँस राईको समधुर स्वरमा माट्टिको कसम गितको बोलले दर्शकहरूलाई झुमाएको थियो ।


साकेलालाई प्राचीनकालदेखि नै किरातीहरुले सर्वक्तिमान आराध्यदेव, भुमीदेवको रुपमा मान्यता दिएर पुज्दै आएको देखिन्छ । किरातीहरुले उभौली (दोङवाङा–धिरीनाम) वैशाखे पूर्णे र उधौली (दोङदावा–छिरीनाम) मंसिरे पूर्णेमा वर्षको दुईवटा किराती ऋतुहरुमा साकेला पुज्ने गर्दछन् । प्राचिनकालमा मानव सभ्यता विकासको सुरुवातको क्रममा कुनै पनि किसिमको समय तिथिमितिको विकास भएको थिएन, त्यसकारण किराती पुर्खाहरुले आफनो ज्ञान र चेतनाको आधारमा प्रकृतिमा भएका प्राकृतिक वनजंगल, रुखविरुवा वनस्पतिहरुमा आएको परिवर्तनलाई आधार मानेर र प्रकृतिमा रहेका पशुपन्छीहरुको क्रियाकलापलाई आधार मानेर दुईवटा किराती ऋतुहरुको पहिचान गरेको भन्ने गरिन्छ । उभौली (दोङवाङा–धिरीनाम) वैशाखे पूर्णेमा जब प्राकृतिक रुपमा गर्मियामको सुरुवात भयो र मौसम परिवर्तनसँगै प्रकृतिमा रहेको वनजंगल, रुखविरुवा वनस्पतिहरुले नया पालुवा हाल्न सुरु गरे । हिमालको शिरदेखी बगेका नदि, खोलानालाहरुको माछाको कुरहरु, भेडाको बथानहरु तथा कर्याङकुरुङ जस्ता चराहरु उभो–उभो लेकतिर जान सुरु गर्ने समयलाई किराती पुर्खाहरुले उभौलीको रुपमा माने ।
यस उभौलीको समयमा नयाँ अन्नबाली लगाएको अन्नबालीलाई कुनै पनि किसिमको प्राकृतिक प्रकोपले क्षती नपुर्यायोस,अन्नबाली उत्पादन वृद्धि होस भनेर मनुष्य जातिको रक्षार्थ साकेला पुजा गरेर बल शक्ती माग्ने गरीन्छ, भने उधौली(दोङदावा–छिरीनाम) मंसिरे पूर्णेमा जब प्राकृतिक रुपमा मौसम चिसो बढ्न थाल्दछ । उभौलीमा पलाएका प्राकृतिक वनजंगल रुखविरुवा वनस्पतीहरुको नयाँ पालुवा, पातहरु विस्तारै झर्न थाल्दछन्, अनी हिमाली भेग माथिमाथि लेकतिर गएको माछा तथा भेडाको बथानहरु र कर्याङकुरुङ जस्ता चराहरु बेसीतिर उधोउधो तिर झर्न सुरु गर्ने समयलाई किराती पुर्खाहरुले उधौलीको रुपमा मान्दै आएको पाइन्छ । यस उधौलीको समयमा खेतबारीमा लगाएको अन्नबाली उठाएर भकारीमा थन्काएपश्चात अन्नबाली र सम्पुर्ण प्राणीलाई रक्षा गरी यो अवस्थामा ल्याईपुर्याएकोमा प्रकृति अनि भूमिदेवी साकेलालाई धन्यवाद सम्मान स्वरुप साकेलाको पुजा गर्ने गरीन्छ ।

