April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एसियाडको १९औं संस्करण चीनको हाङ्झोउमा

1.7K

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को १९औँ संस्करण कला र संस्कृतिको अनुपम उदाहरण बोकेको चीनको हाङ्झोउमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म सञ्चालन हुँदैछ ।

यसअघि १९औँ एसियाली खेलकुद सन् २०२२ को सेप्टेम्बर १० देखि २५ तारिखसम्म चीनमै आयोजना हुने कार्यक्रम थियो । तर विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण उक्त मितिमा प्रतियोगिता आयोजना हुन सकेन । त्यसपछि ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले प्रतियोगिताको नयाँ मिति घोषणा गरेको हो ।

एसियाली खेलकुदको ७२ वर्ष लामो इतिहासमा यस पटक प्रतियोगितामा सहभागी हुने खेलाडीको सङ्ख्याले नयाँ कीर्तिमान बनाउने भएको छ । एसियाली खेलकुदको पहिलो संस्करण सन् १९५१ मा भारतको नयाँ दिल्लीमा आयोजना भएको थियो ।

Advertisement

यस पटक प्रतियोगितामा कीर्तिमानी रूपमा १२ हजार पाँच सय जना खेलाडीले सहभागिता जनाउने भएका छन् । ओसीएका अनुसार, प्रतियोगितामा सहभागी हुन १२ हजार पाँच सय खेलाडीको नाम दर्ता भइसकेको छ ।

प्रतियोगितामा ४५ राष्ट्रका खेलाडीले भाग लिने छन् । ओसीएमा हाल ४५ वटा राष्ट्र सदस्यका रूपमा रहेका छन् । यसअघि एसियाली खेलकुदको १८औँ संस्करणमा सर्वाधिक ११ हजार तीन सय खेलाडीले सहभागिता जनाएका थिए । १८औँ एसियाली खेलकुद प्रतियोगिता सन् २०१८ मा इन्डोनेसियाको जकार्ता र पालेम्बाङमा भएको थियो ।