काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९.१ ओभरमा ८५ रन बनाउँदै अलआउट भएको थियो । सुदूरपश्चिम रोयल्सले दिएको ८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले ९ ओभरमा ४ विकेट गुमाउँदै ८६ रनको लक्ष्य पूरा गरे ।
लुम्बिनी लायन्सका लागि ओपनर ब्याटर दिनेश अधिकारीले १३ बलमा १ चौका र ५ छक्का प्रहार गरे । डार्सी सर्ट १४ रनमा हेमन्त धामीको बलमा बोल्ड भए भने तेस्रो विकेटको रूपमा रोहित कुमार पौडेल १६ रनमा क्याच भए । चौथो विकेटको रूपमा सन्दीप जोरा डकआउट भए ।
निरोशन डिकवेला १६ र दिलिप नाथ १ रनमा अविजित रहँदै उपाधि जिते ।
सुदूरपश्चिम रोयल्सका लागि हेमन्त धामीले २ विकेट र अभिनाश बोहोरा र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।
त्यसअघि, ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सका लागि ओपनर ब्याटर इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । उनले ५१ बलमा १ चौका प्रहार गरे भने ओपनर विनोद भण्डारी डकआउट हुँदा सेल्डन ज्यान्क्सनले १ रन बनाउँदै ट्रम्पलमेनको हातबाट एलबीडब्ल्यू भए ।
आरिफ शेखले ६ रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरी १३ रनमा क्याच भए। उनलाई लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले रुबेन ट्रम्पलमेनको हातमा क्याच गराए। १०.५ ओभरमा दीपक बोहरा र १०.६ ओभरमा पुनित मेहरालाई डक बनाउँदै रोहितले व्याक्तिगत ह्याट्रिक पूरा गरे ।