काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काठमाडौंका मेयर बोलेन्द्र साह (बालेन)ले काम गर्न नसक्ने प्रमाणित भइसकेको टिप्पणी गरेका छन् । नेपाल प्रेस युनियन कैलाली शाखाले काठमाडौंमा अयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारको सफलतापछि देशैभरि स्वतन्त्र बन्ने प्रवृत्ति मौलाएको छ । तर, काठमाडौंकै मेयर बालेन्द्र शाहले पनि अहिले काम गर्न नसकेको कुरा जनतासामु प्रमाणित भइसक्यो ।’
उनले बोल्नजस्तो काम गर्न सजिलो नहुने बताए । उनले भने, ‘तपाईँहरुले देखिरहनुभएको छ । बोल्न सजिलो हुन्छ, काम गर्न कति गाहे हुन्छ । मेरै जिल्लामा अहिले कत्रो समस्या भइरहेको छ । यहाँ (काठमाडौं)को मेयरले एक महिनामै फोहोरको समस्या समाधान गरेर दुर्गन्धरहित बनाउँछु भनेर सम्झौता गर्नुभयो । तर अहिले सिसडोलको अवस्था बेहाल छ । त्यहाँ बसिसाध्य छैन ।’
उनले झुटा प्रचार गरेर स्वतन्त्रहरुले चुनाव जितेको बताए । ‘एकछिन प्रचार गरेर, एकछिन विज्ञापन गरेर आउनेहरुबाट समस्याको समाधान निस्किँदैन’, उनले भने, ‘बोलेर प्रचार गरेजस्तो काम गर्न सजिलो छैन ।’
प्रवक्ता महतले भुपरिवेष्ठित मुलुक नेपालले अन्तराष्ट्रिय सम्बन्धलाई सन्तुलित राख्नका लागि पनि दलीय प्रणालीलाई बलियो पार्नुपर्ने बताए । कांग्रेसकै नेतृत्वमा मात्रै नेपालले छिमेकीसहित सबै मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध राख्न सक्ने उनले बताए । यति हुँदाहुँदै पनि कांग्रेसका केही कमजोरी नै छैनन् भन्न नमिल्ने उनले बताए । कमजोरीलाई सुधारेर अघि बढ्नुपर्ने उनले भनाइ छ ।
‘हामीमा केही कमजोरी नै छैनन् भन्ने होइन । तर कमजोरी हुँदाहुँदै पनि देशलाई निकास दिएर विकासको पथमा हिँड्न कांग्रेसको विकल्प छैन । कांग्रेस अब सुधारिएर अघि बढ्दै जनताको समस्या समाधान गर्न लागिपर्छ’, डा. महतले भने ।
उनले राष्ट्रको समृद्धि र स्वतन्त्रतालाई बलियो पार्न नेपाली कांग्रेसको हैसियत बलियो हुनुपर्ने भएकोले आगामी निर्वाचनमा बढी भन्दा बढी स्थानमा जित हासिल गर्ने गरी तयारीमा जुट्न आह्वान पनि गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीले पार्टीका भ्रातृ संगठनहरुलाई चलायमान बनाउनुपर्ने बताए । निर्वाचन नजिक आइसकेकोले अब सबै पार्टी पंक्तिले कांग्रेसलाई विजयी बनाउन लाग्नुपर्ने उनले बताए । नवौँ महाविधेशनबाट निर्वाचित प्रेस युनियनको नयाँ नेतृत्वले देशभर लोकतन्त्रका पक्षमा जागरण ल्याउन भूमिका खेल्नुपर्ने उनले बताए ।