सोलुखुम्बु : सोलुखुम्बुमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिच झडप भएको छ।
जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ नेलेमा सोमवार साझ झडप भएको हो। चुनावी प्रचारप्रसारको क्रममा दुई पक्ष विच झडप हुँदा कांग्रेस वडा सभापति चुडा बहादुर बस्नेत, सचिव मिलन खत्री र दिपक सुनुवार घाईते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ। घाइते मध्ये मिलनको टाउकोमा, चुडा बहादुर र दिपकको खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिल जंग शाहले जानकारी दिए। घरदैलो कार्यक्रम गरेर फर्किएका कांग्रेसका एक जना कार्यकर्ता र माओवादी केन्द्रका एक जना कार्यकर्ता विच हात हालाहाल भएको थियो।
सोही झगडामा दुवै पक्षका कार्यकर्ताहरु समेल हुँदा सामुहिक रुपमा परिणत भएको हो।