June 15, 2021, Tuesday
२०७८ असार १
1:37:26 pm

सरकार-जसपा ठाकुर पक्षको कार्यदलमा को-को?

370

काठमाडौं– संविधान संशोधनका लागि गृहकार्य गर्न पाँच सदस्य कार्यदल बनाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादीको महन्थ ठाकुर पक्षबीच सहमति जुटेको छ।

शुक्रबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग जसपाका अध्यक्ष महन्थ ठाकुरले बिहीबार पाँच सदस्य कार्यदल गठन भएको जानकारी दिए।

कार्यदलमा जसपाका तर्फबाट नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेको उनले जानकारी दिए। त्यस्तै जसपाका संसदीय दलका नेता राजेन्द्र महतोले सरकारी पक्षबाट अग्नी खरेल, विष्णु रिमाल र कृष्णभक्त पाेखरेल कार्यदलमा रहेको बताए।

आफूहरुको मागका बारेमा कार्यदलमा छलफल हुने नेताहरुले बताएका छन्। संविधान संशोधन, नागरिकता लगायतका विषयलाई कार्यदलले टुंगो लागाउने महतोले जानकारी दिए।

संविधान निर्माणदेखि नै असहमति दर्ज गर्दै आएको मधेस केन्द्रित दलले संशोधनको माग गर्दै आएका थिए। तर केपी ओलीले भने संविधान संशोधनको विरोध गर्दै आएका थिए।

उनले आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुनसक्ने भन्दै अन्य दलले उठाउने गरेको संशोधनको विषयलाई अस्वीकार गर्ने गरेका थिए। तर, पछिल्लो समय जसपाको ठाकुर पक्षसँग निकट सम्बन्ध स्थापित भएपछि भने उनी संविधान संशोधन लगायतका अन्य मागहरुमा लचक देखिएका हुन्।