धादिङ । दिलमाया मेमोरियल फाउन्डेशनले धादिङको ज्वालामूखी गाउँपालिकास्थित श्री बराह कालिका उच्च माध्यमिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ । ग्रामीण इलाकामा रहेको विद्यालयलाई आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्यले फाउन्डेशनले सात थान कम्प्युटर वितरण गरेको यस फाउन्डेशनका अध्यक्ष खुशी लिम्बूले जानकारी दिए ।
भौतिक पूर्वाधार र श्रोतको अभाव भएको भन्दै केही समयअघि बराह कालिका उच्च माध्यमिक विद्यालयबाट सहयोगको लागि निवेदन आएपछि फाउण्डेसनले आफ्ना सदस्यहरुबाट ३६ हजार आठ सय र अन्य शुभेक्षुकहरुबाट ७७ हजार ४ सय ५२ रुपैयाँ जम्मा गरी कुल एक लाख १४ हजार २ सय ५२ रुपैयाँ हालै नेपाल पठाएको थियो ।
फाउण्डेसनले गत शुक्रबार ५ फेब्रुवरीको दिन उक्त रकम बराबरको कम्प्युटरहरु विद्यालयलाई उपलब्ध गराएको हो । बराह कालिका उच्च माध्यमिक विद्यालयका धेरै जसो विद्याथीहरु अल्पसंख्यक र सीमान्तकृत समुदायबाट छन् । उक्त कार्यबाट विद्यालयमा अध्ययनरत ४३१ जना विद्यार्थी लाभान्वित हुनेछन् ।
कम्प्युटर हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानध्यापक शिव अर्यालले दिलमाया फाउन्डेशनलाई धन्यवाद दिदैँ आगामी दिनमा सहकार्यको लागि अनुरोध गरे । प्रधानध्यापक अर्यालले भने, “हामी यस विद्यालयलाई एउटा नमुना विद्यालयको रुपमा अगाडि बढाउन चाहन्छौ र त्यसका लागि दिलमाया फाउन्डेशन जस्तो सामाजिक सेवाभावले कार्य गर्ने संस्थासँग हातेमालो गर्न तयार छौँ”।
त्यस्तै ज्वालामूखी गाउँपालिका अध्यक्ष विनोद तिमल्सेनाले दिलमाया फाउन्डेशनलाई सहयोग गरेकोमा धन्यवाद दिदै आगामी दिनमा गाँउपालिकाले दिलमाया फाउन्डेशनसँग सहकार्य गर्न आफू तयार रहेको बताए ।
यसैबिच, दिलमाया मेमोरियल फाउण्डेसनका अध्यक्ष खुशी लिम्बूले पनि आफ्ना सदस्यहरु र शुभेक्षुक दाताहरुलाई उक्त सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि फाउण्डेसनले संयोजन गर्ने यस्ता पूण्य कार्यहरुमा सोही स्तरको सहयोगको अपेक्षा राखेका छन् ।
दिलमाया मेमोरियल फाउण्डेसनद्धारा धादिङमा इ-लाइब्रेरी स्थापनार्थ सहयोग बितरण कार्यक्रमका भिडियोः
सन् २०१७ मा बेलायतमा स्थापित दिलमाया मेमोरियल फाउण्डेसनले समय समयमा फुटकर आर्थिक सहयोगहरु नेपाल पठाउँदै आइरहेको छ । त्यस्तै एनआरएनए यूकेले २०१७ मा पुनर्निर्माण गरेको पाँचथरको सिरिसे स्कूल भवनको निर्माणलाई पूर्णता दिन दोस्रो तल्ला थप्नका लागि फाउण्डेसनले नौ लाख रुपैयाँ प्रदान गरेको थियो । एनआरएनए यूके र दिलमाया मेमोरियल फाउण्डेसनले संयुक्त रुपमा उद्घाटन गर्ने भनिएको ३५ लाख रुपैयाँको लागतमा निर्मित उक्त भवन कोभिड–१९ लकडाउनका कारण संभव भइरहेको छैन ।