काठमाडौं–राहदानी विभागले २० लाख थान इ–पासपोर्ट छपाईको जिम्मा फान्सेली कम्पनी आइडीइएमआइए आइडेन्टी एन्ड सेक्युरेटी फ्रान्स एसएएसलाई दिने भएको छ।
विभागले तेस्रो पटक गरेको टेन्डरमा सबैभन्दा कम रकममा काम गर्ने भन्दै कबुल गरेको फ्रान्सेली कम्पनी एसएएसलाईलाई दिने गरी बुधबार लेटर अफ इन्टेन्ट जारी गरेको छ।
विभागले छुटसहित २ करोड ११ लाख डरलरमा २० लाख थान इ-पासपोर्ट छपाईका लागि एसएएससँग सम्झौता गर्न लागेको हो। विभागले ई-पासपोर्ट छपाइका लागि तेस्रो पटक असोज ८ मा टेन्डर गरेको थियो।
विभागले फागुन १९ गते गरेको २० लाख थान ई-पासपोर्ट छपाइको टेन्डर अन्तिम चरणमा आएर रद्द भएको थियो। सहभागी कम्पनीहरुको केही प्रमाण नपुगेको भन्दै विभागले यही असोज ५ गते दोस्रो पटक टेन्डर रद्द गरेको थियो।
यसअघि विभागले गत फागुन १९ गते गरेको टेन्डरमा ४ वटा कम्पनीको आवेदन परेको थियो। सहभागी ४ वटै कम्पनीले स्पेसिफिकेसन पूरा नगरेका कारण फागुनमा भएको टेन्डर रद्द भएको थियो।
त्यसअघि विभागले पहिलो पटक २०७६ भदौमा ई-पासपोर्ट छपाइका लागि ग्लोबल टेन्डरको सूचना प्रकाशन गरेको थियो। त्यतिबेला १९ वटा कम्पनीको आवेदन परेको थियो। तर, ग्लोबल टेन्डरअनुसार प्राप्त प्रस्ताव खोल्नु केही घन्टाअघि २०७६ कार्तिक २१ मा विभागले यसको प्रक्रिया नै रद्द गर्यो। त्यतिबेला प्रधानमन्त्रीको ठाडो आदेशमा प्रक्रिया रद्द गरिएको थियो।
फागुनमा भएको टेन्डरमा सहभागी आइडिइएमआइएले २ करोड ६५ लाख ९० हजार डलर, एचआइडी ग्लोबलले २ करोड ९२ लाख ९० हजार डलर, एसिनो कर्पोरेसनले ३ करोड २६ लाख ५० हजार डलर र मुयलबाउअर आइडी सर्भिसेज जिएमबिएचले ३ करोड ९३ लाख २० हजार डलरमा ठेक्का हालेका थिए।