काठमाडौं । कांग्रेस सांसद रामहरि खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रधानमन्त्रीको आवाजलाई समेत नसुनिकन पारित भएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरेसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘प्रधानमन्त्रीले भनेकै कुरा लागु नहुने अवस्था सिर्जना भएको छ । ३ करोड भन्दा तलका योजना मुनिका योजना सबै प्रदेश र स्थानीय तहमा पठाऔँ भन्नुभयो । तर मन्त्रीहरु अहिले पनि मानेका छैनन् । प्रधानमन्त्रीलाई नटेरेको बजेट पास हुँदैछ । प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीको आवाजलाई नसुनिकन बजेट पास भयो ।’
सांसद खतिवडाले मन्त्रीहरूले आफ्नो क्षेत्रमा मात्र नभई आफन्तहरूकामा समेत बजेट विनियोजन गराएको पनि आरोप लगाए । उनले भने, ‘अब परिवर्तन नगर्ने हो भने सांसदहरु संसदभित्र आएर बोल्ने, कराउने, हिँड्ने । मन्त्रीहरूले आफ्ना क्षेत्रमा रकम राख्ने । आफ्नामा मात्रै होइन, श्रीमतीकोमा पनि राख्ने । जेठी सासूकोमा पनि राख्ने । ज्वाइँकोमा पनि राख्ने । आफूलाई मन्त्री बनाउने नेताकोमा पनि राख्ने । अन्त राख्दै नराख्ने । अनि समानुपातिक पद्धतिको विकास पनि हुँदैन । दुर्गममा विकास नहुने पद्धतिको विकास भयो ।’