April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

नेपाल सरकार र एडिबीबीच १६० मिलियन सहुलियत ऋण र ६ मिलियन बराबरको अनुदान सम्झौतामा हस्ताक्षर

1.6K

पोखरा । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच १६० मिलियन डलर सहुलियत ऋण र ६ मिलियन डलर बराबरको अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको सम्झौतामा अर्थ सचिव डा.कृष्ण हरि पुष्कर र एसियाली विकास बैंकका नेपाल कार्यालयका निर्देशक अर्नाउड कौकोइसिसले हस्ताक्षर गरेका हुन् ।

जसमध्ये दीगो पर्यटन विकास तथा जीवन सुधारसँग सम्बन्धित परियोजनाका लागि पोखरा महानगरपालिकासँग साढे चार अरब बराबरको सम्झौता भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए।

सहरी विकास मन्त्रालयमा भएको दीगो पर्यटन विकासका परियोजनासँग सम्बन्धित सम्झौतामा परियोजना प्रमुख रोशन कुमार श्रेष्ठ र पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख आचार्य र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले हस्ताक्षर गरेक हुन्।

Advertisement

परियोजना अन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाईडसम्म फास्ट ट्र्याक निर्माण, पञ्चासे क्षेत्र विकास परियोजना, ७ ताल जोड्ने साइकल ट्रेल, बोटानिकल गार्डेन, लेखनाथ क्षेत्रमा विपद् व्यवस्थापन युनिट स्थापना तथा सञ्चालन, फिर्के कोरिडोर निर्माण लगायतका पर्यटन क्षेत्रसँग सम्बन्धित परियोजनाहरू रहेका छन् ।

यस परियोजनाले पोखराको समग्र विकासमा महत्त्वपूर्ण टेवा पुग्ने प्रमुख आचार्यले विश्वास व्यक्त गरे । “हामी पोखरालाई छिट्टै पर्यटनको राजधानी सहर घोषणा गर्न गइरहेका छौँ, यसका सन्दर्भमा सङ्घ सरकारसँगको विभिन्न निकायहरूसँग महानगरपालिकाको तर्फबाट छलफल र संवादहरू गरिरहेका छौँ, प्रमुख आचार्यले भने, “आज सम्पन्न दीगो पर्यटन विकास तथा जीवन सुधार सम्बन्धी परियोजनाको सम्झौता समग्र पोखराको विकास र पर्यटकीय राजधानी घोषणाका लागि कोषे ढुङ्गा साबित हुनेछ ।”

सम्झौताको कार्यान्वयनका लागि महानगरपालिकाको तर्फबाट सबै प्रकारको सहयोग तथा सहजिकरण गरिने उनले प्रतिबद्धता जाहेर गरे।

महानगरपालिकाको तर्फबाट परियोजना कार्यान्वयनका लागि छुट्टै प्रोजेक्ट अफिस स्थापना गरी आवश्यक कर्मचारीहरूको व्यवस्थापन गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले जानकारी दिए ।

परियोजना सञ्चालनमा नगर विकास कोष साझेदारका रूपमा रहने छ । यसअन्तर्गत १५ वटा विभिन्न परियोजनाहरू सम्पन्न गर्न कुल लागत सात अर्ब पचास करोड अनुमान गरिएको भए पनि पहिलो चरणमा चार अर्ब पचास करोड बराबरको सम्झौता भएको हो । परियोजनाका सम्बन्धमा एडिबी कार्यालयको तर्फबाट विभिन्न चरणमा स्थलगत अवलोकन समेत भइसकेको छ ।