काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारसमबन्धी मुद्दा दायर गरेपछि बोदे बरसाइन नगरपालिका, राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका र विष्णुपुर गाउँपालिका प्रमुख निलिम्बित भएका छन्।
बोदे बरसाइन नगरपालिका—६ स्थित फुलकाहीमा संचालन भएको भनिएको बाख्रा व्यवसायी पकेट कार्यक्रममा १४ लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै नगर प्रमुख आतेश कुमार सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, वडा अध्यक्षसमेत ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
त्यसअघि गत भदौ ११ गते विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव पदबाट निलम्बित भएका थिए। घुससम्बन्धी विषयमा सोधपुछ र अनुसन्धानका लागि अध्यक्ष यादवलाई भदौ ६ गते बुधबार साँझ अख्तियारले नियन्त्रणमा लिएको थियो। अध्यक्ष यादवमाथि विशेष अदालतबाट म्याद थप गराई थुनामा राखेको छ।
आयोगले गाउँपालिका कार्यालयमा पत्राचार गर्दै अध्यक्ष यादव निलम्बनमा परेको जानकारी गराएको छ।
शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्रप्रसाद गुप्ताविरूद्ध अख्तियारले घुस लिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेपछि फागुन १७ गतेदेखि निलम्बित भएका थिए।
नगर प्रमुख गुप्ता र नगरपालिकाका इन्जिनियर रामचन्द्र साहबीचको मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ घुस लिएको आरोपमा दुवै जनामाथि विशेष अदालतमा मुद्दा दायर भएको थियो।
राजविराज नगरपालिकाका मेयर भीमराज यादवलाई अख्तियारले ०७९ असार २९ गते विशेष अदालतमा आरोपपत्र दायर गरेपछि उनी निलम्बनमा परेका छन्। राजविराजस्थित राज रंगशाला स्तरोन्नतिमा भ्रष्टाचार गरेको ६ वर्ष पुरानो मुद्दामा उनी मुछिएका हुन्।
गहिल कन्स्ट्रक्सनका सञ्चालक समेत रहेका भीमराज यादवले निर्माण सेवाले आर्थिक वर्ष ०७४–०७५ मा राजरंगशाला स्तरोन्नति कार्यको लागि जिल्ला खेलकुद विकास समिति सप्तरी र सो कन्स्ट्रक्सनबीच सम्झौता भए पनि यादवले मापदण्डविपरीत काम गरेको आरोप छ।
यादवले मापदण्डविपरीत गरेको कामलाई गुणस्तरीय युक्त र मापदण्डअनुसार काम भएको प्रमाणित स्वीकृति गराई २ लाख ६३ हजार ४ सय ६८ रुपैयाँ ४० पैसा काम गरेकोभन्दा बढी भुक्तानी लिएको भन्दै अख्तियारले मुद्दा दायर गरी कैद र जरिवाना माग गरेको छ।