April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

विदेशमा जति नै सुविधा भए पनि त्यहाँ खुशी छैनः अर्थमन्त्री महत

1.8K

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले मेहिनेत र लगनशीलता भए देशमै पर्याप्त अवसरहरु रहेको बताएका छन् । अर्थमन्त्री महतले विदेश जाँदैमा सबै कुरा आफैं नहुने भन्दै विदेशमा गएर गर्ने मेहिनेत र पसिना स्वदेशमै गर्न आग्रह समेत गरेका छन् ।

बुधबार राष्ट्र निर्माण मन्च नेपाल र ‘उद्यमशील युवा सृजनशील युवा’ राष्ट्रिय अभियानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले भने, ‘देशबाहिर सुनको श्रीलंका छैन, विदेश जाने तयारीमा रहनुभएका युवाहरु जसले पूर्ण छात्रवृत्ति पाउनु भएको छैन, उहाँहरु अप्ठ्यारोमा पर्नुभएको छ । पढाई पूरा नहुने परिस्थिति, आर्थिक श्रोत जुटाउन नसकिने परिस्थिति र लिगल स्टाटस मेन्टेनको परिस्थितिमा उहाँहरु गुज्रिनुभएको छ । त्यहाँबाट ननिस्कन सकिन्छ, न छोड्न सकिन्छ । यो प्रतिशत धेरै ठूलो छ । त्यसैले विदेश जाँदामात्रै केही गर्न सकिन्छ भन्ने सोच पहिले त्याग्नुपर्छ । त्यसपछि स्वदेशमा पनि अवसर भेट्टाउन सकिन्छ, देख्न सकिन्छ । हामीले सकेसम्म स्वदेशमा भएका अवसरहरुको सदुपयोग गर्नुपर्छ ।’

उनले नेपाल विकासक्रममै रहेकाले देशमा धेरै कुरा गर्न बाँकी रहेको र यहाँ भएको अवसरलाई देख्न सुष्म नजर चाहिने पनि बताए । उनले भने, ‘नेपालमा विकासशील राष्ट्रमात्रै हो । यहाँ धेरै कुरा अझै गर्न बाँकी नै छ । त्यसैले यहाँ धेरै अवसर पनि छन्, त्यो अवसर देख्न सुष्म नजर चाहिन्छ ।’

Advertisement

विदेश जानेबित्तिकै सबै ठीकठाक हुन्छ भन्ने सोच नै अहिलेको समस्या भएका उनको भनाइ थियो । ‘युवाले यहाँ नै अवसर खोज्न थाले भने विदेशभन्दा यहाँ नै राम्रो भविष्य हुन्छ । विदेशमा जति नै सुविधा भए पनि त्यहाँ खुशी छैन । त्यसैले नेपालमा प्राप्त अवसरलाई ग्रहण गर्न म अनुरोध गर्दछु ।’