म्याग्दी–म्याग्दीको अन्नपूर्ण–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले अबको एक महिनाभित्र उत्पादन सुरुगर्ने तयारी गरेको छ।
माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीको बाँध, सुरुङ, क्यानल निर्माण, पेनस्टक पाइप र विद्युतगृहमा उपकरण जडान सकिएको छ। निर्मित संरचना र जडान भएका उपकरणको परीक्षण सुरु गरिएको आयोजनाका परामर्शदाता इञ्जिनीयर दिवाकर खड्काले बताए। ‘संरचना बनाउने र उपकरण जोड्ने काम सकिएको छ’, उनले भने, ‘बनाएका र जोडिएका संरचना ठीक भए नभएको परीक्षणको चरणमा छौँ ।’ बाँधको यसअघि नै परीक्षण भइसकेको छ। सुरुङ, क्यानल र पेनस्टकको परीक्षणका लागि कार्यतालिका बनाइएको छ। त्यसपछि विद्युत्गृहको परीक्षण गरिने इञ्जिनीयर खड्काले बताए।
सन् २०१६ को जुन १३ मा सुरु भएको आयोजनाको दुई हजार २७०.५ मिटर सुरुङ २०७६ वैशाखमा जोडिएको थियो। नारच्याङको बेँसीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युतगृह निर्माण गरिएको छ। नीलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाइएको छ । विद्युतगृह नजिकै स्विचार्ड निर्माण भएको छ। बेँसीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सवस्टेशनसम्म प्रसारण लाइन निर्माण भएको छ । एक सय १५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएको दुुई वटा भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाइएको छ । आउटलेटदेखि बाँधसम्म एक हजार ५०० मिटर दुई मिटर गोलाइको पेन स्टक पाइप जडान भएको छ ।
आगामी जनवरी १५ भित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य राखिएको आयोजनाका प्रतिनिधि चूडामणि निरौलाले बताए। ‘कार्यतालिकाअनुसार कुनै समस्या आएन भने जनवरी १५ भित्र परीक्षण उत्पादन हुन्छ’, उनले भने, ‘पूर्वाधार निर्माण सकेर परीक्षणको चरणमा छौँ।’ पाँच अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा प्रवद्र्धकबाहेक नेपाल इन्भेष्टमेन्ट बैंकले ७० करोड, जलविद्युत् विकास कम्पनीले एक अर्ब र नेपाल बैंकले ५० करोड ऋण लगानी गरेका छन् ।
यसैगरी नबील बैंकले एक अर्ब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलभमेन्ट बैंकले ३० करोड ऋण लगानी गरेका छन् । आयोजना निर्माणस्थल नारच्याङका बासिन्दालाई सात लाख तीन हजार ५१२ र प्रभावित क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अन्य सात वटा वडाका बासिन्दालाई १० लाख कित्ता शेयर बाँडफाँट गरिएको छ । साधारण शेयर पनि बाँडफाँट भइसकेको छ ।