April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

महासङ्घको ५४ औँ साधारणसभा राजधानीमा शुरु हुँदै

2.5K

काठमाडौँ – अन्ततः नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औँ साधारणसभा तथा महासङ्घको नयाँ कार्यसमितिको निर्वाचन हुने भएको छ । कोभिड–१९ का कारण गत चैतदेखि प्रभावित हुँदै आएको महासङ्घको साधारणसभा तथा नेतृत्व चयनको प्रक्रियाले अन्ततः ८ महिनापछि औपचारिकता पाउने भएको हो ।

महासङ्घको ५४ औँ साधारणसभा बिहीबारबाट राजधानीमा शुरु हुँदै छ । वार्षिक साधारणसभासहित महासङ्घको नयाँ कार्यसमिति समेत चयन गर्ने सो सभाको प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै उद्घाटन गर्दैछन् । भर्चुअल माध्यमबाट हुने सोसभाको उद्घाटन बिहान साढे ११ बजेलाई तोकिएको छ ।

महासङ्घको कार्यतालिका अनुसार बिहीबार अर्थात् मंसिर ११ गते प्रधानमन्त्री मार्फत जुमबाट साधारणसभाको उद्घाटन गर्ने, मंसिर १२ गते (शुक्रवार) बिहान १० बजे जुमबाटै महासङ्घको साधारणसभाको बन्द सत्र कार्यक्रम सञ्चालन गर्ने र मंसिर १३ गते (शनिवार) बिहान ८ बजेदेखि ५  बजेसम्म  निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।

Advertisement

साधारणसभाका दुई कार्यक्रम जुममार्फत् महासङ्घबाटै गर्ने कार्यक्रम रहेपनि नयाँ कार्यसमिति छनोटको निर्वाचनका लागि भने महासङ्घले छुट्टाछुट्टै तीन स्थानको व्यवस्था गरेको छ । महासङ्घले उद्योग वाणिज्य समूहका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, एशोसिएट समूहका लागि कार्की व्याङ्क्वेट माइतीघर र वस्तुगत संघ समूहका लागि महासङ्घको आफ्नै सचिवालय, टेकुमा निर्वाचन केन्द्र रहने गरी व्यवस्था मिलाएको छ ।

कोभिड–१९ को महामारीकै बीच आयोजना हुँदै गरेको महासङ्घको साधारणसभा तथा निर्वाचनका लागि स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै छुट्टाछुट्टै समूहका लागि छुट्टाछुट्टै स्थानको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।

त्यसो त कोभिड–१९ को संक्रमण तथा  स्वास्थ्य सुरक्षालाई नै ध्यानमा राख्दै कोभिड—१९ पोजेटिभ देखिएका मतदाताहरूलाई भने सबै समूहका लागि एउटै निर्वाचन केन्द्र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीबाटै मतदान गर्न पाउने गरी व्यवस्था मिलाईएको निर्वाचन अधिकृत लिलामणि पौडेलले रातोपाटीसँग बताए ।

यदि त्यस्ता मतदाताहरू भए आफै वा आफ्नो संस्था मार्फत यथाशक्य चाँडो निर्वाचन समितिलाई जानकारी गराउन समेत सबै व्यवसायी मतदाताहरुमा अनुरोध गरिएको अधिकृत पौडेलले बताए ।