इलाम: चियाबारी भन्ने बित्तिकै कन्याम र श्री अन्तुको नामले परिचित पूर्वको पर्यटकीय गन्तव्य ईलाम पछिल्लो समय पानीटारको नामले पनि चिनिन थालेको छ ।
पर्यटन सम्बद्ध निकायको उचित प्रर्वद्धनको अभावमा लामो समयसम्म ओझेलमा परेको पानीटार हाल पुर्वकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास भएको हो । कतै अग्लो त कतै होचो तर मिलेको चियाबारी, अन्तु बिर्साउने चिसो हावापानी र पर्यटक तान्ने वनभोजस्थल यहाँको मुख्य आकर्षण हो । ईलामको देउमाई नगरपालिका–३ मा अवस्थित रहेको पानीटारमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहलसँगै चलचित्र खिच्ने र म्युजिक भिडियो छायाङकन गर्ने क्रम पनि सुरु भएको छ ।
ईलाम सदरमुकामबाट करिब ३० किलोमिटरको दुरीमा रहेको पानीटार पुग्न बिब्ल्याँटे बजार, नेपालटार हुँदै गाग्रेभञ्ज्याङ पुगेर केही तल झर्नुपर्छ । सदरमुकामबाट गाग्रेभञ्ज्याङसम्म पक्की र गाग्रेभञ्ज्याङदेखि केही ओरोलो कच्ची बाटो हिँडेपछि पानीटार पुगिन्छ ।
यसका साथै झापाको बिर्तामोड–शनिश्चरे हुँदै मङ्गलबारेको बाटो हुँदै पनि पानीटारसम्म पुग्न सकिन्छ । पछिल्लो समय सदरमुकामको बाटोभन्दा झापाबाट आउने बाटो छोटो भएकाले बढी पर्यटक यही बाटो प्रयोग गर्ने गरेका छन् । सञ्चारमाध्यमकै प्रचारका कारण पानीटारले पछिल्लो समय पर्यटकीय गन्तव्यको पहिचान पाएको स्थानीय पर्यटन व्यावसायी पासाङ शेपाले बताउनुभयो । “कुनै निकायले यसको प्रचारका लागि चासो देखाएनन् ।
मिडियाको प्रचारले नै अहिले पानीटार पर्यटकीय क्षेत्र बन्दैछ”, उहाँले भन्नुभयो, “आउँदो साल गाग्रेभञ्ज्याङबाट आउने कच्ची सडक पक्की भएपछि आवागमनका लागि झनै सहज हुन्छ ।”
पानीटारमा हाल व्यवस्थित खानपान र यथोचित बसोबासको अभाव भएपनि पछिल्लो समय आन्तरिक पर्यटकहरुको चहलपहलमा वृद्धि भएसँगै पानीटारमा नयाँ होमस्टे, होटल तथा कटेजहरु थपिने क्रम पनि बढेको छ । पर्यटक बढ्दै जाँदा स्थानीयबासीले घर–घरमा होटल तथा होमस्टे सञ्चालन गर्न थालेको पर्यटन व्यावसायी धरणी कोईरालाको भनाई छ । उहाँका अनुसार अहिलेसम्म पानीटारमा व्यवस्थित होटल छैन । बस्ने व्यवस्था नभएकाले पनि लामो समय पर्यटकहरु पानीटारमा रहन रुचाउँदैनन् ।
अहिले पानीटारमा बिशेषगरि शुक्रबार र शनिबार करिब २०० को हाराहारीमा आन्तरिक पर्यटकहरु आउने गरेका छन् । बिशेषतः घुमफिर र हिउँदमा वनभोजका लागी आउनेको संख्या बढी रहेको स्थानीयको भनाई छ ।