March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

नेपाल र बेलायतबीचको सम्बन्ध ऐतिहासिक तथा बहुआयामिक: प्रधानमन्त्री सुनक

995

लन्डन  । बेलायती प्रधानमन्त्री ऋषि सुनकले नेपाल र बेलायतबीचको सम्बन्ध ऐतिहासिक तथा बहुआयामिक रहेकोे बताएका छन् ।

नेपाल र बेलायतबीच सन् १९२३ मा मैत्री सन्धी हस्ताक्षर भएको एकसय वर्ष पूरा भएको अवसरमा लण्डनस्थित प्रधानमन्त्री निवास टेन डाउनिङ स्ट्रिटमा सोमबार आयोजना गरिएको विशेष समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘गोर्खा सैनिकहरुको इमान्दारिता, त्याग र समर्पणको प्रशंसा गर्छु।’

बेलायती राजा चाल्र्सको विगतको नेपाल भ्रमण स्मरण गर्दै प्रधानमन्त्री सुनकले दुई देशबीचको मैत्री सम्बन्ध विशेष रहेको र आगामी दिनमा बेलायत र नेपालबीच व्यापार, लगानीजस्ता आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने पनि बताए ।

Advertisement

सो कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालका प्रधानमन्त्रीका तर्फबाट शुभकामना व्यक्त गर्दैे बेलायतले नेपालको विकासमा पुर्‍याएको सहयोगको लागि धन्यवाद दिए। उनले आगामी एकसय वर्षमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्ध थप क्षेत्रहरुमा विस्तार गरी सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे।

समारोहमा नेपाली मुलकी भारतीय नायिका मनिषा कोइराला, बेलायतकी परराष्ट्र राज्यमन्त्री आन मारी ट्रेवल्यान, बेलायतस्थित विभिन्न पेशा तथा व्यवसायमा आबद्ध नेपाली समुदायका प्रतिनिधि, भूतपूर्व गोर्खाहरु, बेलायती सांसद तथा उच्चपदस्थ अधिकारी एवं नेपालका बेलायती मित्रहरुको उपस्थिति थियो।