November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रदेश सरकारहरूले आज बजेट ल्याउँदै

850

काठमाडौं । संवैधानिक प्रावधानअनुसार आज असार १ गते बजेट ल्याउनुपर्ने भएकोले प्रदेश सरकारहरूले आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्वजनिक गर्दैछन् । केन्द्र सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

कोशी, मधेश, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरूले आय–व्यवको विवरणसहितको बजेट प्रस्तुत गर्न लागेका हुन् ।

अघिल्लो वर्ष कोशी प्रदेशले ३६ अर्ब २४ करोड ३५ लाख, गण्डकी प्रदेशले ३३ अर्ब ४२ करोड ७२ लाख बराबरको बजेट प्रस्तुत गरेका थियो । त्यसैगरी मधेश प्रदेशले आर्थिक वर्ष २०८१÷८२ मा ४४ अर्ब ११ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो ।

Advertisement

संघीय राजधानीसमेत रहेको बाग्मती प्रदेशले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा ६८ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा बागमतीले ६२ अर्ब ७० करोड बराबरको बजेट ल्याएको थियो ।

लुम्बिनी प्रदेश सरकारले ३२ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८१÷८२ मा ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर यस वर्ष ३२ अर्बको सिलिङ तोकिएको थियो । आज बजेट प्रस्तुतीका लागि लुम्बिनी प्रदेश सभाको बैठक दिउँसो तीन बजे बोलाइएको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷८२कै हाराहारीमा नयाँ बजेट ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷८२ मा २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट प्रस्तुत गरेको थियो । आज साँझ ५ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।