November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एनआरएनए कुल आचार्य समूहद्धारा एनसीसी यूकेलाई इमेलः सदस्यता शुल्क विनियोजनबारे आधिकारिक धारणाको माग

5.5K

लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेलाई कुल आचार्य नेतृत्वको एनआरएनए केन्द्रीय समितिले एक औपचारिक इमेल सम्प्रेषण गरेको छ । गत मे ७ का दिन प्रेषित इमेलमा एनआरएनएको केन्द्रीय समितिले एनसीसी यूकेलाई कार्यकाल २०२१–२३ को सन्दर्भमा एनआरएनए यूकेका सदस्यहरुबाट संकलित सदस्यता शुल्क के कति कारणले काठमाण्डौंमा स्थित केन्द्रको खातामा जम्मा नभएको हो भनी सोधनी गरेको छ ।

आचार्य समूहका कोषाध्यक्षत्रय लोक प्रसाद दाहाल, फडिन्द्र पन्त र सुनिल शाहद्धारा हस्ताक्षरित इमेलमा सदस्यता शुल्कबापत जम्मा भएको रकम विनियोजन सम्बन्धमा कार्यसमितिको आधिकारिक धारणा उपलब्ध गराएर संस्थाको वर्तमान उल्झनलाई स्पष्ट निकास दिन अनुरोध गरिएको छ ।

इमेलमा भनिएको छ – “केन्द्रीय विधान २००३ तथा संसोधन २०२१ सहित यस अन्तराष्ट्रिय समन्वय परिषदको कोष व्यवस्थापन तथा विनियोजन सम्बन्धी व्यवस्थाको आधारमा अन्तराष्ट्रिय कोष तथा राष्ट्रिय समन्वय परिषदहरुको कोष सञ्चालनमा पनि संस्थागत एकरुपता, पारदर्शिता र जवाफदेहिता स्पस्ट देखिनेगरी लागू गर्दै एनआरएनएमा आवद्द सम्पूर्ण सदस्यहरुलाई सत्य–तथ्य जानकारी दिने र संस्थाको आर्थिक गतिविधिहरुलाई चुस्त–दुरुस्त र विस्वासिलो गर्ने उदेश्यसहित वर्तमान केन्द्रीय कोष विभागले कार्य थालनी गरेकोबारे राष्ट्रिय समन्वय परिषद बेलायतको कार्यसमितिलाई पनि यसै इमेल–पत्रमार्फत जानकारी गराउन चाहन्छौ।”

Advertisement

इमेलमा आचार्य समूहले गत महिना मार्च २०२२ मा आफूले कार्यभार लिंदै गर्दा केन्द्रको कोषमा राष्ट्रिय समन्वय परिषद बेलायतका सदस्यहरुको शुल्क जम्मा हुन बाँकी देखिएको भन्दै के कति कारणले केन्द्रको कोषमा रकम जम्मा गर्न कठिनाइ भएको हो र तत् सम्बन्धमा कार्यसमितिको स्पस्ट व्यवस्था, छलफल र निर्णय भएको वा नभएकोबारे कुनै जानकारी नभएको उल्लेख छ ।

“राष्ट्रिय समन्वय परिषद यूकेमा यहाँहरु गत जुलाई २०२१ मा निर्वाचित भई कार्यभारमा हुनुहुन्छ, केन्द्रीय परिषदमा गत मार्च २०२२ मा केन्द्रीय परिषद गठन भई हामीले कार्यभार सम्हालेको यो नयाँ परिवेशमा अन्तराष्ट्रिय परिषद र राष्ट्रिय परिषदबीच समन्वय र थप समझदारी विकास गर्दै संस्थागत उदेश्यहरु हासिल गर्ने साझा दायित्वमा सहकार्य गर्न हामी आब्हान गर्दछौ” – इमेलमा भनिएको छ ।

आफ्नो पहिलो औपचारिक इमेलमा आचार्य समुहले एनआरएनए यूकेलाई नयाँ परिवेशमा संस्थाभित्र रहेका कमीकमजोरीहरु हटाई कुनै पनि कार्यमा सामुहिक निर्णयमार्फत अघि बढ्न सल्लाह दिंदै त्यसका लागि केन्द्रीय कोषाध्यक्षहरु सधैं तयार रहेको जनाएको छ । उनीहरुले केन्द्रीय कोष छुट्टै नभएर एनआरएनए यूकेमा आवद्द सदस्यहरु र सम्पूर्ण राष्ट्रिय समन्वय परिषदको साझा भएको भन्दै यसको व्यवस्थापनको जिम्मेवारीको हिस्सा राष्ट्रिय परिषद बेलायत पनि भएको जनाएका छन् ।

इमेलको अन्तमा उल्लिखत विषयलाई निकास दिन र आर्थिक विनियोजन तथा संस्थाका बिभिन्न एकाइहरुबीच सौहार्द वातावरण निर्माण गर्न बेलायतको कार्यसमितिले अग्रसरता लिने आशा प्रकट गरिएको छ ।

स्मरण रहोस्, एनआरएनए यूकले काठमाण्डौंस्थित केन्द्रलाई २०२१ को अधिवेशनताका आफ्ना ११,४७३ जना सदस्यहरुबाट उठेको झण्डै ४३ हजार पाउण्ड स्टर्लिङ पठाउन बाँकी छ । 

एनआरएनए आइसीसीले एनसीसी यूकेलाई पठाएको इमेल जस्ताको तस्तैः