जनकपुर । जनकपुरमा एक निजी अस्पतालको लापरबाहीले गर्दा शिशुको मृत्यु भएको परिवारले आरोप लगाएका छन् । जनकपुरधामको रामानन्द चोकस्थित तराई राजधानी हस्पिटलको लापरबाहीले शिशुको मृत्यु भएको आरोप लागेको हो ।
धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ स्थित नगराइन बस्न २५ वर्षीया रोशनी मण्डलले अस्पतालमै शुक्रबार राति ८ बजे सामान्य रूपमा छोरालाई जन्म दिएकी थिइन् । तर बिहान ४ बजे शिशुको मृत्यु भएको अस्पतालले जानकारी गराएको रोशीनीको श्रीमान विजय मण्डलले बताए । उनका अनुसार जन्मेको केही समय पश्चात् शिशुको स्वास्थ्य अवस्था खराब भएको भन्दै अस्पतालले एनआईसीयूमा भर्ना गरेको थियो ।
उनले नर्सनको मात्रै भरमा उपचार गर्दा शिशुको मृत्यु भएको आरोप लगाएका छन् । उनका अनुसार राति ११ बजे नै बच्चा चिच्याउँदा किन यस्तो भएको हो भनेर डाक्टरको बारेमा सोधखोज गरेपनि रातभर चिकित्सक नआएको र स्टाफ नर्सकै भरमा उपचार गरेकोमा अस्पतालले बिहान ४ बजे छोरा मृत भएको परिवारजनलाई जानकारी गराएका थिए ।
अस्पतालको लापरबाहीका कारण बच्चाको मृत्यु भएको हुँदा बदमासी गर्ने चिकित्सक र हस्पिटलमाथि कारबाही हुनुपर्ने मन्डलको माग छ ।
अस्पतालले भने बच्चाको आफ्नो ठाउँबाट पूर्ण हेरचाह गरेको बताएका छन् । अस्पतालका म्यानेजर विकास कुमार सिंहका अनुसार अस्पतालले कुनै लापरबाही नगरेको र बच्चा जन्मिँदा स्वास्थ्य नै रहेतापनि पछि अस्वस्थ हुन थालेपछि एनआईसीयूमा भर्ना गरिए पनि बच्चालाई बचाउन नसकिएको हो ।