काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघले निर्यात व्यवसायलाई अर्थतन्त्रको इन्जिनका रुपमा विकास गर्नेगरी आफ्नो दृष्टिकोण तयार गर्ने भएको छ।
महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको प्रमुख इन्जिनको रुपमा निर्यात क्षेत्रलाई विकास गर्ने गरी महासंघले आफ्नो दृष्टिकोण निर्माण गर्न लागेको बताएका हुन्।
निर्यात व्यवसायी महासंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई एवं शुभकामना प्रदान गर्न मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले अबको १ सय दिनमा स्पष्ट दृष्टिकोण ल्याउने बताए।
‘अहिले अर्थतन्त्रको इन्जिनको रुपमा रेमिट्यान्स मात्र रहेको छ’, उनले भने, ‘कुनै पनि बेला रेमिट्यान्समा कमी आउँदा देशको अर्थतन्त्र नै भत्किने सम्भावना छ। त्यसैले अर्को इन्जिनको रुपमा निर्यात क्षेत्रलाई प्रोत्साहन गरिनु जरुरी भएको छ।’
त्यसका लागि निर्यातजन्य उद्योग व्यवसायको कस्ट अफ फण्ड घटाउने विषयमा सरकारसँग महासंघले पहल गर्ने बताए। निर्यात व्यवसायमा सरकारबाट इन्सेन्टिभ कम भएकाले पनि निर्यात प्रवद्र्धनमा समस्या देखिएको अध्यक्ष गोल्छाले बताए।