काठमाडौं : नेपाली कांग्रेसले लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद टुंग्याएको छ। कांग्रेसले पछिल्लो पटक १३ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको हो।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मीनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले क्रियाशील सदस्यतामा सहमति जुटाएको हो। केन्द्रीय निर्वाचन समिति सचिव केशव रिजालले कार्यदलले १३ वटै जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याउने सहमति गरेको बताए।
‘कार्यदलले सबै जिल्लाको सदस्यता विवाद टुंग्याउने सैद्धान्तिक सहमति गरेर प्राविधिक काम गर्न सचिवालयलाई जिम्मा दिएको छ’ रिजालले भने,‘नामावली प्रिन्ट गर्ने, वेबसाइटमा इन्ट्री गर्ने काम सचिवालयले गर्छ।’ उनका अनुसार कार्यदलले सहमति गरेपछि सोहीअनुसार सचिवालयलाई सहजीकरण गर्न क्रियाशील सदस्यता छानबिन समिति सदस्यहरू आनन्द ढुंगाना, जीवन परियार, प्रदीप पौडेल र योगेन्द्र चौधरीलाई जिम्मेवारी दिइएको छ।
प्रदेश २ का आठ वटै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएको छैन। सबै जिल्लाको विवाद टुंगिएसँगै कार्यतालिका अनुसार अधिवेशन प्रक्रिया अगाडि बढ्ने केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवले बताए।