May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

समाज रुपान्तरणका लागि मिडिया क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ: राजदूत रेग्मी [भिडियोसहित]

670

लण्डन – संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले समाज रुपान्तरणको लागी र सिंगो जगतलाई सुसूचित बनाउन नेपाली मिडियाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । बेलायताबाट शुरु भएको नयाँ अनलाइन न्यूज पोर्टल, ब्रिटिश खबर डट कमको शुभारम्भ गर्दै कार्यक्रममा राजदूत रेग्मीले समाज रुपान्तरणको लागी र सिंगो जगतलाई सुसूचित बनाउन नेपाली मिडियाको महत्वपूर्ण भूमिका रहेको बताएका हुन ।

भर्चुअल कार्यक्रममा राजदूत रेग्मीले पत्रकार र पत्रकारीताको गरिमालाई स्मरण गर्दै समाज रुपान्तरण गर्न र सिंगो जगतलाई सुसूचित बनाई सिर्जनात्मक पक्षको ढोका खोल्न र सुधारका अभियानहरु अगाडि बढाउन मिडियाको महत्वपूर्ण भूमिका रहेको जनाए ।

राजदूत रेग्मीले भने “सुधारका अभियान अगाडि बढाउन र नवप्रवर्द्धनलाई आमन्त्रण गर्नका लागि मिडिया क्षेत्रको असाध्यै ठूलो योगदान रहन्छ । नेपाल र संयुक्त अधिराज्य बेलायत, माल्टा र आयरल्याण्डको सम्बन्धलाई अझ सुमधुर बनाई नेपालमा लगानी वृद्धि गरी नेपालमा नै उत्पादित वस्तु र सेवाको युरोपमा बजार प्रवर्द्धन गर्न मिडियाले ठूलो योगदान पुर्याउने कुरामा म विश्वस्त छु । सबैले स्मरण गर्न लायक योगदान पुग्नेछ भन्दै त्यसका लागि सफलताको शुभकामना पनि दिन चाहान्छु ।”

रेग्मीले भने “नेपालको हितमा बढि भन्दा बढि अभिवृद्धि, व्यापार व्यवसाय गर्नका लागि र लगानी अगाडि बढाउन मिलेर काम गर्नेछौँ । मैले आफ्नो व्यक्तिगत, राजदुतावास र नेपाल सरकारको तर्फबाट पूर्ण रुपमा मिडियाकर्मीलाई साथ र समर्थन गर्नेछु ।”

आफुले सधैँ प्रवासी संघ संस्थाहरुसँग मिलेर काम गर्ने बताउँदै रेग्मीले भने “म व्यक्तिगत रुपमा र नेपाल सरकारको प्रतिनिधिको रुपमा यहाँहरु सँग सँगै रहेर काम गर्छु । राजदूतावास र गैर–आवासीय नेपाली संघले नेपाल र नेपालीको हितका लागि, दिग्विजयका लागी एक आपसमा सहकार्य गर्दै अगाडि बढ्नेछौँ ।”

साथै रेग्मीले नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारीहरुलाई सफल र ऐतिहासिक कार्यकालका लागि शुभकामना समेत दिएका थिए ।