काठमाडौं । गाजामा बिहीबार बिहान इजरायली सेनाको आक्रमणबाट दुई बालबालिकासहित कम्तिमा ११ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सीमा क्षेत्र नजिकै रहेको एक गाडीमा बम आक्रमण हुँदा आसपासका मानिसहरु मारिएका हुन् ।
उक्त आक्रमणमा पत्रकारहरू मोहम्मद क़ेश्ता,अब्दुल रऊफ शाथ र अनस घुनैमको पनि मृत्यु भएको छ । सेन्ट्रल गाजास्थित नाटजरिम कोरिडोरमा इजिप्टको सहयोगको नियमन गर्न बनाइएको कमिटीका विषयमा रिपोर्टिङ गरिरहेका उनीहरू बिस्थापितहरूको नयाँ शिविरमा मानवीय सहयोगसम्बन्धी विवरण संकलन गरिरहेका बेला बम हमलामा परेका हुन् ।
मध्य गाजामै भएको इजरायलको अर्को आक्रमणमा एकैपरिवारका तीनजना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । देर इलबालाहस्थित अल अक्सा सहिद अस्पतालका अनुसार बाबु, छोरा र अर्का एक आफन्त यस आक्रमणमामारिएका थिए ।
त्यसैगरी, दक्षिणी गाजामा इजरायली सेनाले गरेका दुई फरक आक्रमणमा १३ वर्षका एक बालक र ३२ वर्षकी एक महिलाको मृत्यु भएको छ ।
गत १० अक्टुबरमा अमेरिकाको मध्यस्थतामा इजरायल र हमासबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भए पनि इजरायलले यस सम्झौता पटक–पटकउल्लंघन गरेको प्यालेस्टिनी अधिकारीहरुको आरोप छ ।




