May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

नेपाली काँग्रेस चितवनको जिल्ला अधिवेशन शुक्रबार हुने

२०७८ फाल्गुन १८

310

काठमाडौं । नेपाली काँग्रेस चितवनको जिल्ला अधिवेशन शुक्रबार हुने भएको छ । अधिवेशनले सात पदाधिकारीसहित ४८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । साथै तीन क्षेत्रबाट ११ जनाका दरले ३३ महासमिति सदस्यको चयन हुनेछ ।

विगतमा पटक–पटक रोकिँदै आएको अधिवेशन हुने निश्चित भएको हो । जिल्ला सभापतिका लागि ६ जनाले आकांक्षा राखेका छन् ।

प्रा. डा. सूर्यकान्त घिमिरे, कैलाश कोइराला, उत्तम जोशी, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ र विजय भुषालले सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । घिमिरे नेविसंघका पूर्वजिल्ला सभापति एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्ट्रार हुन् । खनाल र भुषाल महासमिति सदस्य हुन् भने कोइराला हालका उपसभापति र जोशी सचिव छन् । श्रेष्ठ बागमती प्रदेशसभा सदस्य एवं मन्त्री हुन् । सङ्ख्या घटाउनका लागि आन्तरिक गृहकार्य भइरहेको छ । श्रेष्ठ संस्थापन पक्षमा देखिएका उम्मेदवार हुन् भने अन्य उम्मेदवार संस्थापन इतरका हुन् ।

Advertisement

संस्थापन इतरका उम्मेदवारमध्ये एक बनाउन गृहकार्य भइरहेको छ । सभापति निर्वाचित हुनका लागि ५१ प्रतिशत मत आवश्यक पर्छ । पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसके दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्नुपर्ने हुन्छ ।

शुक्रबार मनोनयनको कार्यक्रम सम्पन्न गरी शनिबार मतदान प्रक्रिया अघि बढाइने निर्वाचन समितिले जनाएको छ । मतदाता दुई हजार ९०६ छन् ।