April 19, 2024, Friday
२०८१ बैशाख ८
1:37:26 pm

टोकियो ओलम्पिक अनिश्चित

2.6K


टोकियो: कोरोनाभाइरसको फैलिदै गएपछि जापानको राजधानी टोकियोमा संकटकाल घोषणा गरिएको छ। जसका कारण ६ महिनापछि हुने तय भएको टोकियो ओलम्पिक अनिश्चित बनेको छ ।

जापान सरकारले बिहीबार एक महिना लामो संकटकाल घोषणा गरेको थियो । जापानका प्रधानमन्त्री योशिहिडा सुगाले संकटको उच्चतम अवस्थामा पुग्न लागेकाले उच्च सतर्कता अपनाउनका लागि संकटकाल लगाउनु परेको बताएका छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) मा लामो समय बिताएका सदस्य डिक पाउन्डले टोकियोमा संकटकाल घोषणा गरिएसँगै ओलम्पिक अनिश्चित बनेको बताएका छन् ।

Advertisement

कोरोनाका कारण गत वर्षका लागि तय भएको ओलम्पिक स्थगित गर्दै नयाँ मिति घोषणा गरिएको थियो । आइओसीले आगामी २३ जुलाई देखि ८ अगस्टसम्म ओलम्पिक आयोजना हुने जनाएको थियो ।

कोरोना कारण तयारीमा असर गरेकाले तोकिएको मितिमा ओलम्पिक हुनेमा शंका लागेको पाउन्डको भनाइ छ । तर आयोजक जापानले तोकिएकै मितिमा ओलम्पिक गर्ने दाबी गर्दै आएको छ ।

संकटकाल लगाउँदा ओलम्पिकका लागि योजना बनाउन सहज हुने आयोजकको भनाइ छ । आयोजकले ओलम्पिक सुरक्षितरुपमा गर्न आफूहरु तयार रहेको बताएका छन् ।

टोकियो क्षेत्रमा घोषणा गरिएको संकटकाल शुक्रबारदेखि लागु हुनेछ । रेस्टुरेन्ट र बारहरुमा बेलुका ७ बजेपछि मादक पदार्थ विक्रि वितरणमा रोक लगाइएको छ भने यसको एक घण्टापछि उनीहरूको सेवा रातभरका लागि बन्द गर्न भनिएको छ ।

यो व्यवस्था अर्को सूचना जारी नहुँदासम्म लागु हुने अधिकारीहरुले बताएका छन् । जापानको राजधानी टोकियोमा दैनिक थप सङ्क्रमितको सङ्ख्या बढ्दै जाने क्रममा बिहीबार दुई हजार ४४८ जना थपिएका थिए । देशभरी सात हजार ४९० जना सङ्क्रमित थपिएको पनि अधिकारीहरूले जनाएका छन् ।

जापानमा अहिलेसम्म तीन हजार ७०० भन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ ।