November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रियललाई पाँचौं पटक क्लब विश्वकपको उपाधि

1.1K

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । प्रिन्स अब्देल्लाह स्टेडियममा शनिबार राति भएको फाइनलमा साउदीको अल हिलाललाई ५-३ गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो ।

रियलले कीर्तिमानी पाँचौं पटक क्लब विश्वकपको उपाधि जितेको हो । रियललाई जित दिलाउन भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डेले दुई दुई गोल गरे । करिम बेन्जिमाको नाममा एक गोल रह्यो ।

अल हिलालका लुसियानो भिट्टोले दुई गोल गर्दा मोउसा मरेगाले एक गोल गरे ।

Advertisement

Image

खेलको १३ औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । १८ औं मिनेटमा फेडेरिकोले गोल गर्दा रियलको अग्रता दोब्बर बन्यो । २६ औं मिनेटमा मोउसाले गोल गर्दै हिलाललाई २-१ को स्थितिमा ल्याए ।

खेलको ५४ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियलको अग्रता ३-१ को बनाए ।

५८ औं मिनेटमा फेडेरिकोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ४-१ को अग्रता दिलाए । खेलको ६३ औं मिनेटमा भिट्टोले गोल गर्दा हिलाल ४-२ को स्थितिमा आयो ।

६९ औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दा रियल ५-२ ले अघि रह्यो । त्यसपछि खेलको ७९ औं मिनेटमा हिलालका भिट्टोले व्यक्तिगत दोस्रो गोल गरेपनि रियल ५-३ ले विजयी भयो ।

Image

ब्राजिलको फ्लामेन्गोले तेस्रो स्थान हासिल गरेको छ ।

अल अहलीलाई ४-२ गोल अन्तरले हराएर फ्लामेन्गो तेस्रो भएको हो ।