काठमाडौं । रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रदेश गरेको छ । बिहीबार राति भएको क्वाटरफाइनलमा एट्लेटिको मड्रिडलाई अतिरिक्त समयमा ३-१ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो ।
खेलको १९ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ७९ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयमा करिम बेन्जिमा र भिनिसियस जुनियरले गोल गर्दै रियललाई जित दिलाए । खेलको ९९ औं मिनेटमा स्टेफन साभिचले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटियो ।
१०४ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको अतिरिक्त समयको इन्जुरी समयमा जुनियरले गोल गर्दै रियललाई ३-१ को जित दिलाए । अर्को खेलमा एट्लेटिक बिल्बाओले भ्यालेन्सियालाई ३-१ ले नै हराएर सेमिफाइनलमा स्थान बनाएको छ ।