November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

संकटालाई २२ औं संस्करणको आहा रारा गोल्डकपकाे उपाधि

1.5K

पोखरा । संकटा फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बनेको हो । रोमान्चक खेलको अतिरिक्त समयमा कप्तान सुनिल बलले गोल गरेपछि संकटा च्याम्पियन बनेको हो । संकटाले दोस्रो पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको हो । खेल अतिरिक्त समयमा धकेलिनु अघि खेलको आठौं मिनेटमा सुरज ज्यु ठकुरीले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै संकटालाई २-० को अग्रता दिलाए ।
No description available.
खेलको ३७ औं मिनेटमा रेने सान्टिलोनले गोल गर्दै भुटनीजलाई २-१ को स्थितिमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा विलिस ग्रिफिथले गोल गर्दै भुटनीजलाई २-२ गोलको बराबरीमा ल्याएका थिए । दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल २-२ को बराबरी हुँदा अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको ११७ औं मिनेटमा सुनिलले विजयी गोल गरे । उपाधिसँगै संकटाले १२ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको भुटनीजले ६ लाखमा चित्त बुझायो । प्रतियोगितामा संकटाका कप्तान सुनिल सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । सर्वोत्कृष्ट चुनिएका सुनिलले टेल्जीको इलेक्ट्रिक स्कुटर टाइगर प्राप्त गरे । उनलाई टेल्जी नेपालका निर्देशक सञ्जिव शिल्पकारले स्कुटरको साचो हस्तान्तरण गरे । यस्तै प्रतियोगितामा संकटाका टिकेन्द्र थापा उत्कृष्ट गोलकिपर, भुटनीजका हेक्टर ओर्टेगा उत्कृष्ट डिफेन्डर,  संकटाका आयुष घलान उत्कृष्ट मिडफिल्डर, संकटाकै स्टेफन बिनोङ उत्कृष्ट फरवार्ड  र सल्याण खड्की उत्कृष्ट प्रशिक्षक चुनिए । प्रतियोगितामा ४ गोल गरेका संकटाका मेसुके ओलेमोउ सर्वाधिक गोलकर्ता चुनिए । धरान एफसीले फेयर प्ले अवार्ड प्राप्त गर्यो । विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार र सर्वाधिक गोलकर्ताले २५ हजार प्राप्त गरे ।
No description available.
हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगिताबाट वचत रकम क्लबबाट संचालित सुर्य बहादुर के. सी. स्मृती सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १० जिल्लाका १३ जना आश्रित रहेका छन् ।