April 13, 2024, Saturday
२०८१ बैशाख १
1:37:26 pm

नवौं राष्ट्रिय खेलकुदको भव्य उद्घाटन

1.4K

पोखरा । नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य उद्घाटन भएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा शुक्रबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गरिएको हो ।

‘एकताबद्द देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको नवौंको उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटनको घोषणा गरे ।

Advertisement

यस्तै गण्डकी प्रदेशका ओलम्पियन टिका बहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गरे ।

युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले झण्डात्तोलन गरे ।

उद्घाटनको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको शुभकामना सन्देश वाचन गरिएको थियो ।

यस्तै नवौंमा सहभागिता जनाउने ११ टिमले मार्चपास गरेका थिए ।

त्यसबाहेक झाँकी, नृत्य, गायन लगायत आतिसबाजी गरिएको थियो ।

कोभिड महामारी लगायत विविध कारणले ४ वर्षपछि राष्ट्रिय खेलकुद आयोजना भएको हो । 

गण्डकीमा भने ३९ वर्षपछि प्रतियोगिता भएको हो ।  यस अघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको छ । नवौंको अधिकासं खेलहरु पोखरा रंगशालामा हुनेछ। 

नवौंमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

यस पटक विभागिय टोलि नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मी सहित सात प्रदेशका सात टिम र एनआरएनए गरि ११ टिमका खेलाडीले सहभागिता जनाउँदै छन् ।

यस पटक ३६ खेलका ४ सय ४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।