January 15, 2025, Wednesday
२०८१ माघ २
1:37:26 pm

नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन आज हुँदै

3.2K

काठमाडौं । नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन आज हुँदैछ । नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४.३० बजे पोखरा रङ्गशालामा उद्घाटन गर्नेछन् ।

खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङका अनुसार यसपटक ६ हजार एक सय ५७ खेलाडीले प्रतिस्पर्धामा भाग लिनेछन् । प्रतियोगितामा ३६ खेल र दुई प्रदर्शनीसहित ३८ खेल समावेश छन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी बन्नेछन् ।

नवौँ राष्ट्रिय खेलकुदको उद्घाटनका लागि सम्पूर्ण तयारी पूरा भएको सदस्यसचिव घिसिङले जानकारी दिए । खेलकुद उद्घाटन समारोहका लागि उपराष्ट्रपति पुन बिहीबार नै पोखरा आएका पुगेका छन् । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलगायत विशिष्ट व्यक्तित्वहरू र सबै खेलका लागि खेलाडी तथा अफिसियल पनि पोखरा पुगिसकेका छन् ।

Advertisement

उद्घाटन समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास, सातै प्रदेशका सांस्कृतिक झाँकी प्रदर्शनी, विद्यार्थीहरूबाट ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रमलगायत आतिशबाजीसहितका मनोरञ्जनात्मक कार्यक्रम गर्ने तयारी छ । त्यस्तै ११ वटै टोलीको मस्कटसहित मार्चपास, ओलम्पिक टर्च प्रज्ज्वलनलगायत तयारी गरिएको छ ।

औपचारिकरूपमा आज उद्घाटन हुने भए पनि केही खेल यसअघि नै सुरु भइसकेका छन् । हालसम्म बागमती प्रदेशले चार स्वर्ण र एक रजत, नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण र तीन रजत तथा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले एक स्वर्ण, तीन रजत र छ कास्य प्राप्त गरेको छ । त्यस्तै सुदूरपश्चिमले एक स्वर्ण र तीन कास्य, नेपाल पुलिसले एक स्वर्ण, प्रदेश नं १ ले तीन कास्य तथा आयोजक गण्डकी प्रदेशले एक कास्य प्राप्त गरिसकेको छ। प्रतियोगितामा कुल पदक सङ्ख्या स्वर्ण तीन सय ९३, रजत तीन सय ९३ र कास्य छ सय रहेको बताइएको छ ।