काठमाडाैं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आफ्नो अपराजित यात्रा जारी राखेको छ। म्यानचेस्टर युनाइटेडविरुद्ध आइतबार राति भएको खेलमा अर्लिङ हालान्ड र फिल फोडेनले ह्याट्रिक गरेपछि सिटीले युनाइटेड माथि ६-३ को जित निकालेको हो।
इंग्लिस प्रिमियर लिग फूटबलमा बहुप्रतीक्षित मानिएको डर्बी भिडन्तमा सिटीले फोडेनको गोलबाट ८ औं मिनेटमा नै अग्रता बनाएको थियो। पहिलो हाफमा ४ गोल गरेको सिटीका लागि फोडेन र हालान्डले २-२ गोल गरेका थिए।
हालान्डले ३४, ३७ र ६४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गर्दा फोडेनले ८, ४४ र ७२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। तर दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेको युनाइटेडले गोल अन्तर घटाउन सफल भए पनि सिटीलाई जितबाट बिमुख गर्न भने असफल भयो।
युनाइटेडका लागि एन्थोनी मार्सियलले २ गोल गर्दा अर्को एक गोल दोस सान्तोषको नाममा रह्यो। जितपछि म्यानचेस्टर सिटी प्रिमियर लिगमा अपराजित रहँदै ८ खेलबाट २० अंकका साथ दोस्रो स्थानमा रहेको छ।
शीर्ष स्थानमा रहेको आर्सनलको समान खेलबाट २१ अंक रहेको छ। पराजित म्यानचेस्टर युनाइटेडको ७ खेलबाट १२ अंक रहेको छ।