काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल-मुताइरीले पद छाडेका छन्।
उनले आज सामाजिक सञ्जाल फेसबुकमा आफूले नेपाली फूटबल टोलीसँग ५६५ दिन काम गरेपछि मुख्य प्रशिक्षकको पद छाडेको उल्लेख गरेका छन्।
५६५ दिन पद सम्हालेपछि आफूले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकबाट अलग भएको उनले उल्लेख गरेका छन्।
प्रशिक्षणका क्रममा हाँसो‚ खुशी‚ दुःख र पीडाका क्षणमा आफूलाई सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिएका छन्।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको कतार भ्रमणपछि अल-मुताइरीले राजीनामा दिएका हुन् । नेम्वाङले शनिबार कतार भ्रमण गर्दै कतार फुटबल संघका अध्यक्ष हमाद बिन खलिफा बिन अहमद अल-थानीसँग भेटवार्ता गरेका थिए।
पछिल्लो समय नेपाली फुटबलमा जारी सिनियर खेलाडी र मुख्य प्रशिक्षक अल-मुताइरीबीच विवाद भइरहँदा एन्फा अध्यक्षको कतार भ्रमणलाई महत्वपूर्ण रुपमा हेरिएको थियो।